कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महिना थप भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महिनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।
नेविसङ्घको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो । काङ्ग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताउनुभयो । विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसङ्घको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले स्वतन्त्रता सेनानी सोनेलाल पासवान (धनुषा), मणिसुन्दर वजियम (खोटाङ), भीमराज नौलाखा (मोरङ), काङ्ग्रेसका योद्धा तेजप्रसाद उप्रेती (धादिङ), कर्णबहादुर राना (गुल्मी) र धनबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।