किम्फको २१ औँ संस्करण १६ गतेदेखि

 जेठ १२, २०८१ शनिबार ७:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औँ संस्करण आउँदो १६ गतेदेखि शुरु हुने भएको छ । काठमाण्डौको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चल्ने किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

यस संस्करणको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ राखिएको छ । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत पहिलेजस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन् ।

आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूकाअनुसार इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट किम्फ शुरु हुनेछ । नेपालमा छायाँकन गरिएको यो वृत्तचित्र बाघको बच्चालाई शिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा हो ।

महोत्सवले नेपालका सामाजिक समस्याका बारेमा चलचित्र र कार्यक्रमहरूको छनोटमार्फत कुराकानी गराउने लक्ष्य राखेको छ । महोत्सवमा “एभरेस्ट रिभिजिटेड १९२४, २०२४” शीर्षकको चलचित्रसँगै एक शताब्दी पुरानो सगरमाथा क्षेत्रको तस्बिरहरूको प्रदर्शनी हुनेछ ।

साथै नेपाल–कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा कोरियाली चलचित्रको विशेष प्रदर्शनी गरिने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरामामा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनौट हुनेछन् ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिने किम्फ फाउण्डेसनले जनाएको छ । यसैगरी नेपाल पानोरामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दर्शक पुरस्कारको राशी एक लाख रूपैयाँ छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया