बजेटकाे प्रतिक्रियाबाट अर्थमन्त्री 'सरप्राइज'

 जेठ १७, २०८१ बिहीबार १८:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दर हेरफेर गरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज काठमाण्डौमा आयोजना गरेको आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा अर्थमन्त्री पुनले करका दर हेरफेरबो यस्तो बताउनुभएको हो ।

पुनले देशको वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिने गरी बजेट आएको दाबी गर्नुभयो । देशमा सरकार र अर्थमन्त्री परिवर्तन भए पनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको उहाँको भनाइ थियो ।

अर्थमन्त्री पुनले सबै जनाले बजेट सन्तुलित आएको भन्दा आफू अचम्मित भएको बताउनुभयो । सबै मन्त्रालय र निकायहरूको मेहनत र सरोकारवालाको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयाे, ‘धेरै जनाले बजेट सन्तुलित आएको बताएका छन् । त्यसबाट म सरप्राइज भएको छु । म आफूलाई पनि तथ्यमा आधारित भएर बजेट आएकोजस्तो लाग्छ’

यस्तै कार्यक्रममा निजी क्षेत्रले सरकारले ल्याएको बजेट यथार्थपरक र संयमित भएको प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय सकारात्मक भएको बताउँदै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले पुराना बजेटका कतिपय कार्यक्रम तथा नीतिलाई नयाँ बजेटले काट्नु भने दुःखद पक्ष भएको गुनासो गर्नुभयो ।

यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने र यसका लागि एक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणालाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउनुभयो । उहाँले बजेटले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सकारात्मक रहेको बताउनुभयो ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेट यथार्थपरक र संयमित भएको उल्लेख गर्नुभयो । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया