टी–२० विश्वकप : क्यानडाले दियो अमेरिकालाई १ सय ९५ रनको लक्ष्य

 जेठ २०, २०८१ आइतबार ८:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – टी–२० विश्वकपको उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । क्यानडाले घरेलु टोली अमेरिकालाई जितका लागि एक सय ९५ रनको लक्ष्य दिएको छ ।

डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनायो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए । 

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् ।

यसपालीको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह 'डी' मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया