टी–२० विश्वकप : क्यानडालाई हराउँदै घरेलु टोली अमेरिकाको विजयी शुरुवात

 जेठ २०, २०८१ आइतबार १०:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ । क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका लागि कालिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए ।

यसअघि डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए । 

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह 'डी' मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया