९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ छिचोलियो

 जेठ २२, २०८१ मंगलबार १५:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ छिचोलिएको छ । मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्नु भएको हो । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिएको हो ।

सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिजुली व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभयो । ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै उहाँले आउँदो आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो ।

आउँदो आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने, बङ्गलादेशमा बिजुली निर्यात गर्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ थियो ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव नौ प्रतिशत निःशुल्क बिजुली प्राप्त हुनेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपैयाँको शेयर र प्रति महिना प्रति घर ३० युनिटसम्म बिजुली निःशुल्क प्राप्त गर्नेछन् ।

अरुण तेस्राे निर्माणकाे जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एमजेभीएन) ले निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत् विकास सम्झौतामा छ ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया