पौरखी प्रेम भन्छन् ‘जाँगरिलाको भागमा मासु मासु, अल्छीको भागमा आँसु आँसु’

 मंसिर ४, २०७५ मंगलबार ८:३९:२० | लक्ष्मण कार्की
unn.prixa.net

तेह्रथुम – पहिले आम्बुङ गाविसमा पर्ने तेह्रथुमको सन्सारीबजार अहिले म्याङलुङ्ग नगरपालिकामा पर्छ । सन्सारी डाँडो सन्सारी बजार बनेको धेरै पनि भएको छैन । हेर्दाहेर्दै एउटा घरमा अर्को घर टाँसेर थपिंदै गएका हुन् । यहाँ बजार बन्ने सुरसारै नभएका बेला २०३५ सालमा प्रेमकुमार श्रेष्ठका बाले पनि घर बनाएका थिए । सरकारी विद्यालय खुलेपछि कम्तीमा एउटा दोकान चल्ने लख काटेर प्रेमका बाले घर बनाएका थिए यहाँ । आखिर नेवार न परे ब्यापारको ‘आइडिया’ कसले दिनु परोस् ? 

तर, बाको लखले काम गरेन । मानिसको आउजाउ भएन, ब्यापार खासै चलेन । दोकान त थियो तर छ भन्दा छ भनेजस्तो मात्रै । गतिलो भरथेग गरेन । प्रेम त्यहाँ रत्तिन सकेनन् । कामका लागि विदेशिए । साउदी अरेबिया पुगे । तीन वर्ष काम गरे । चित्त बुझेन । फर्किए । तर सन्सारी बजारमा होइन । घर गएर गतिलो कमाइ गर्न नसकिने उनले भुलेका थिएनन् । काठमाडौंमै लण्ड्री पसल चलाए । छ सात जना कामदार राखे । तर गतिलो सँग चलेन । अब के गर्ने ? प्रश्न उनको अघिल्तिर गजधम्म परेर उभियो ? उभिएन मात्र सोध्न थाल्यो । अब के गर्ने ? आफ्नै मनले प्रश्न सोधेको सोध्यै गर्न थालेपछि, उनले जवाफ दिए अब घरै फर्किने । 

‘विकल्प पनि के नै थियो र, प्रेम गाउँ फर्किने आफ्नो निर्णयबारे भन्छन् ‘विदेश गइसकेकै थिएँ, काठमाडौंमा ‘केही’ गर्ने प्रयास पनि पार लागेन, गाउँ फर्किनुको विकल्प थिएन ।’

गाउँ गए । नयाँ केही थिएन । आफूले वर्षौँ बिताएको त्यही सन्सारी डाँडो थियो । खनिखोस्री गरेको लेकको बारीका गह्रा थिए । बाको घरमा चलाएको सानो दोकान थियो । बजार अलि बढेको थियो । केही घर थपिएका थिए । चहलपहल केही त बढेको थियो तर पर्याप्त थिएन । फर्केर आफ्नै घर पुगेपनि गतिलो इलम चाहिँ के गर्ने भन्ने टुँगो लागिसकेको थिएन । 

संयोग 

एकदिन पसलमै बसिरहेका बेला हातमा प्लाष्टिकको थैलो बोकेका तत्कालीन एमालेका नेता भवानी खापुङ्ग चिया खान पुगे । हैन के पो बोक्नु भो हाव सर ? उनले सोधे । मेन्जो कुुखुराको चारो पो हाव खापुङ्गले लिम्बु लवजमा जवाफ दिए । 

ठूलो मान्छेले कुखुरा पालेको र त्यसका लागि चारो लगिरहेको देखेपछि उनलाई लागेछ ‘यत्रो ठूलो मान्छेले गरेको काम नराम्रो पक्कै हुन सक्दैन ।’

कसरी पाल्न सकिन्छ कुखुरा, चल्ला कहाँबाट ल्याउने, चारो कहाँ पाइन्छ, कति लाग्छ पैसा, जस्ता कुरा उनले एकै सासमा उनले खापुङ्गसँग सोध्न भ्याए । झन् झन् हौसला बढ्यो । अनि, पशु प्राविधिकहरुसँग पनि सोधिखोजी गरेपछि उनले कुखुरा पालन गर्ने निष्कर्ष निकाले । 

होस्टेमा हैँसे 

काम थालिरहेका बेला गरिबी निवारण कोषको कार्यक्रम संसारी बजारमा पनि लागू हुने भयो । गरिब घर परिवारलाई आय आर्जनका लागि सघाउने उद्देश्यसहित समूह गठन भयो । अध्यक्ष उनी नै भए । बचत गर्ने बानी सुरु भयो । उनीहरुले अलिअलि पैसा उठाए । अलिअलि कोषले दियो । बचत गर्ने क्रम बढ्यो । समुहमा आवद्ध भएपछि भेला हुने र के कसो गर्न सकिन्छ भन्नेबारे छलफल हुन थाल्यो । अध्यक्ष भएकाले पनि प्रेमलाई अरुभन्दा अझ धेरे गर्नुपर्ने एकखालको दबाब परेजस्तो लाग्यो । उनी झनै दत्तचित्त भएर काममा लागे । 

घर नजिकै चर्च खुल्यो । चर्चले ९ रोपनी जग्गा किन्यो । उनी क्रिश्चियन बनिसकेका थिए । त्यसको रेखदेख गर्ने जिम्मा उनैको भयो । त्यही जग्गामा उनले कुखुरा पालन बढाए । अरु खेती पनि सुरु भयो । अहिले त्यो बारीमा सोप, धनिया, तोरी, रायो, आलु लसुन टमाटर को खेती मात्र हुँदैन । माछा, कुखुरा, गाई पनि पालिएका छन् । केरा, लहरेआँप, स्याउ, आरु, आल्चा, अम्बा, कागती, सुन्तला, मधुलागायतका पनि विरुवा लगाएका छन् । धेरै होइन दुई चार वटाका दरले । दाँते ओखर र जापानी नास्पातीको परीक्षण भइरहेको छ । ‘के–के गर्न सकिँदो रहेछ भनेर परीक्षण गर्न पनि मज्जा हुन्छ नि’ उनी आफ्नो फर्साइलो पारामा भन्छन् । 

उनको फर्ममा सबैभन्दा धेरै कुखुरा छन् । लेयर्स जातका । तीनसय वटा । उनको मुख्य परिचय पनि कुखुरापालक किसान नै हो । ‘अरु रहरले र कुखुराचाहिँ कमाइ गर्ने नै आशले गरेको हुँ’ हाँस्दै उनले सुनाए । घरबाट अलि पर डाँडैडाँडा तल तिर रहेको फर्ममा पुग्दा कुखुरा कर्कर गरिरहेका थिए । तिनीहरुलाई दानापानी खुवाएपछि मात्र उनी कुराकानीका लागि तयार भए । 

कमाइ

तीनसय कुखुरा पालनबाट अहिले खर्च कटाएर दिनको १७ सयसम्म कमाइ हुने गरेको उनले बताए । अबको ३ वर्षमा हजारदेखि १५ सय कुखुरा बनाउने लक्ष छ प्रेमको । आफ्नो खुशीमा ब्यवसाय चलाएर परिवारसँगै बसेर दिनको हजार रुपैयाँ जोगाउन सकेपनि मनग्ये हो भन्ने प्रेमले चारचौरास घुम्दै थाहा पाइसकेका छन् । ‘पैसाले त कसलाई पो पुग्छ र हाव सर, तर सबै खर्च कटाएर दिनको हजार बाह्रसय बचाउन सके भै गो नि हाव’ उनी मुसुक्क हाँसे । 

कसैलाई गुहार्न परेन कसैलाई केही माग्न परेन यसभन्दा के चाहियो ? प्रेम प्रश्न गर्छन् । पशु प्राविधिकले सय वटा कुखुराले ९३ वटासम्म मात्र अण्डा दिन्छ भनेका थिए तर प्रेमले ९७ वटासम्म अण्डा पारेको सुनाए । अब बर्सेनि कुखुरा थप्दै जाने उनको योजना छ । 

कुखुरापालन सजिलो छैन तर त्यस्तो गाह्रो पनि नभएको प्रेम बताउँछन् । सुरुमा त निकै गाह्रो भयो नि, प्राविधिकले भनेको तीन महिनापछिसम्म पनि कुखुराले अण्डै पारेनन् नि एउटा रमाइलो प्रसंग पनि प्रेमले सुनाए किन रहेछ भन्दा कुखुरालाई चाहिने भन्दा धेरै दाना खुवाएछु ।’

अहिले अण्डा घरबाटै बिक्छ । बजारको कुनै समस्या छैन तर तराईतिरबाट आउन अण्डाले भने बजारभाउ बिगारिदिने गरेको उनको दुखेसो छ । 

डुलिहिँड्ने धेरै, काम गर्ने थोरै

प्रेमले गरिरहेको मेहनत र त्यसको फल देखेर ओहो भन्नेहरु धेरै छन् तर गरौं न त भन्दा लु गरौं भन्ने कम मात्र भएको उनी सुनाउँछन् । ‘आफैं गर्ने पनि कम छन्, काम गर्न आओ तलब दिन्छु भन्दा पनि कोही तयार छैनन्’ उनले भने ।

महिनाको १० हजार रुपैयासम्म दिन्छु भन्दा कुखुराको सुली कसले सोहोर्छ हाव भन्नेहरु भेट्दा दुःख लागेको उनी सुनाउँछन् । विदेशमा उनीहरुले गर्ने काम त्यो भन्दा कति गाह्रो हुन्छ भन्ने के थाहा उनीहरुलाई ? विदेश मोहमा फस्दै गएका युवाप्रति उनले कटाक्ष गरे । ‘केही नहुने पाखामा हेर त गर्दा हुने रहेछ भन्छन्, उनी थप्छन् लु गरौ न त हाउ भन्दा कोही मान्दैनन् बरु तरकारी किनेर खान तयार छन् ।’ 

प्रेम नमूना किसानका रुपमा पनि पुरस्कृत भइसकेका छन् । अहिले उनी बजार ब्यवस्थापन समितिको अध्यक्ष पनि छन् । यो सबै देखेभोगेका प्रेमले अहिले यसो गम्दा आफूलाई ‘जाँगरिलोको भागमा मासु मासु अल्छिको भागमा आँशु आँशु’ भन्ने उखान सही हो रहेछ भन्ने लाग्ने गरेको उनी सुनाउँछन् । 

आफूबाट प्रभावित भएर कोही कोही म पनि कुखुरा पालन गर्नुपर्‍याे वा कुनै खेती गर्नुपर्‍याे भनेर आए अभिप्रेरित गर्ने गरेको उनी बताउँछन् । सकेको सुझाव दिने नसकेको भए फलानो ठाउँ जाउ भनेर बाटो देखाइदिने गरेको छु । तर पनि उनलाई धेरेजसोमा चाहिँ आफैँ केही गरौ भन्ने भावना हराउँदै गएको जस्तो लाग्छ रे । गाउँघरमा केही छैन भनेर कुम्लोकुटुरो बोकेर विदेश हिँड्नेहरु देख्दा उनी मनमनै गम्छन् गर्नेलाई जहिँतहिँ नगर्नेलाई कहीँ न कहीँ। 

तस्बिरहरु : प्रकाश धौलाकोटी 
 

अन्तिम अपडेट: असोज २०, २०७७

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया