गर्मीमा कुन रङ्गको कपडा लगाउने ?

 असार ४, २०८१ मंगलबार १४:४:४६ | डा. सनतकुमार शर्मा
unn.prixa.net

डा. सनतकुमार शर्मा 

हाम्रो छालाले प्राकृतिक रूपमा हामीलाई सूर्यको विकिरणबाट जोगाउँछ । तर घाममा अत्यधिक समय बिताउँदा छालाको क्यान्सरको जोखिम बढाउन सक्छ । यो जोखिम विशेष गरी घाममा धेरै समय बिताउने वा काम गर्ने व्यक्तिका लागि बढी हुन्छ । यस जोखिमलाई कम गर्न कपडाको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । कपडाले हाम्रो छालालाई हानिकारक पराबैजनी किरणबाट मात्र नभई गर्मी, चिसो, हावा, पानीलगायतबाट पनि जोगाउँछ । त्यसकारण मौसमअनुसारको सही लुगा लुगाउनु सहजता र सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छ ।

सूर्यको प्रकाशमा पराबैजनी किरण हुन्छ । जसले तरङ्गको रूपमा ऊर्जा बोक्छ । हाम्रो आँखाले देख्न सक्ने रातो, सुन्तला, पहेँलो, हरियो, निलो, गाढा निलो र बैजनी रङ्ग पनि ऊर्जाको सानो भाग मात्र हो । गाढा निलोमा सबैभन्दा बढी ऊर्जा हुन्छ भने रातो रङ्गमा कम ऊर्जा हुन्छ । यसरी नै कपडाको रङ्गको विज्ञान बुझ्न सक्ने हो भने पनि गर्मीको समयमा शरीरलाई शीतल राख्न सकिन्छ ।

कालो वस्तुले सूर्यको प्रकाश वा ऊर्जालाई सोस्छ । त्यो प्रकाश ऊर्जा तापमा रूपान्तरण हुन्छ । यही कारणले गर्दा एउटै समय घाममा राखिएको कालो वस्तु फरक रङ्गको वस्तुभन्दा धेरै तातो हुन्छ । कपडामा पनि एउटै सिद्धान्त लागू हुन्छ । कालो कपडाले सूर्यको किरण सोस्छ, त्यसपछि तातो हुँदै जान्छ । जसले शरीरलाई पनि तातो महसुस गराउँछ । त्यसैले गर्मीमा कालो कपडा लगाउँदा झन् बढी गर्मी हुन्छ ।

तर कुनै पनि सेतो रङ्गको वस्तुको सतहमा सूर्यको किरण ठोक्किएपछि त्याे परावर्तन हुन्छ अर्थात् फर्काइदिन्छ । सेतो वस्तुले सूर्यको किरणलाई सोसेर राख्दैन । त्यसैले किरणमा हुने ऊर्जा तातोमा परिवर्तन हुने कुरै भएन । सेतो रङ्गकाे कपडाले सूर्यको ऊर्जा फर्काइदिने हुनाले गर्मीमा सेतो रङ्गको लुगा लगाउँदा शीतलता दिन्छ ।

यसरी कालो कपडाभन्दा सेतो कपडा लगाउँदा शरीरमा गर्मीको महसुस कम हुन्छ । साउदी, कतार, दुबईलगायतका बढी गर्मी हुने देशमा त्यहाँका मानिसले गर्मीबाट जोगिन प्रायः सेतो कपडा लगाउने गर्छन् ।

रातो, निलो, पहेँलोलगायत अरू गाढा वा चहकिला रङ्गले सूर्यको सातै रङ्गलाई सोसेर जुन रङ्ग हो त्यसलाई मात्रै परावर्तित अर्थात् फर्काइदिन्छ । उदाहरणका लागि रातो रङ्गको कपडाले सातै वटा रङ्गलाई सोसेर रातो रङ्गलाई मात्र परावर्तित गरिदिन्छ । तर अरू रङ्गको ऊर्जा तापमा रूपान्तरण हुन्छ र तातो हुन्छ । त्यसैले चहकिला र गाढा रङ्गको कपडा लगाउँदा पनि शरीरलाई गर्मी महसुस गराउँछ ।

कालो, गाढा वा चहकिला रङ्गको कपडाबाहेक फिक्का, हल्का रङ्गको कपडा गर्मीमा लगाउन ठीक हुन्छ । हल्का रङ्गको कपडाले सूर्यको प्रकाशलाई परावर्तित गर्दछ जसले शरीरलाई शीतल महसुस गराउँछ ।

कपडाको प्रकारले पनि कति गर्मी हुन्छ भन्ने कुराले फरक पार्छ । केही प्रिन्टेड (रङ्ग छापिएको) कपडामा हावा छिर्दैन र शरीरको गर्मीलाई बाहिर निस्किन दिँदैन । कपासबाट बनेका कपडामा प्वाल धेरै हुने भएकाले पसिना सोस्ने र सजिलै हावा छिर्ने गर्छ । शरीरको गर्मीलाई रोकेर राख्दैन । त्यसैले गर्मीमा कपासबाट बनेको कपडा लगाउनुपर्छ ।

(बीपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम, कीर्तिपुरका कार्यकारी निर्देशक भौतिकशास्त्री डा. सनतकुमार शर्मासँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. सनतकुमार शर्मा

डा. शर्मा भौतिकशास्त्रविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया