बाढी पहिरोको पूर्वसूचना फोन र एसएमएसमा

 असार ६, २०८१ बिहीबार १८:११:४१ | सुनिल पाेखरेल
unn.prixa.net

सुनिल पोखरेल 

यस वर्षको मनसुन प्रणाली नेपालको पूर्वी भू–भागबाट प्रवेश गरिसकेको छ । अघिल्लो वर्ष भारी वर्षाको पूर्वानुमान गरे पनि वर्षा औसतभन्दा कम भयो । तर मनसुनजन्य विपद्को पूर्वतयारी नहुँदा बाढी र पहिरोका कारण धेरै जनधनको क्षति भयो । यस वर्ष औसतभन्दा ३५ देखि ५५ प्रतिशत बढी वर्षा हुने अनुमान छ । त्यसैले बाढी पहिरोको जोखिम बढ्ने चिन्ता झन् बढी छ ।

बाढी र पहिरोबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जल तथा मौसम विज्ञान विभागले देशभरि नै बाढी पहिरोबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रवाह गर्ने लगायत अरू विभिन्न उपाय अवलम्बन गरेको छ । अघिल्ला वर्षमा सीमित ठाउँमा मात्रै बाढी र भारी वर्षाको पूर्व सूचना प्रवाह हुन्थ्यो । यस वर्ष विभागले नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरी ठूला नदी वरपरका जोखिम क्षेत्रमा रहेका बासिन्दाको मोबाइल फोनमा पूर्वसूचना, जानकारी र चेतावनी सिधै पुर्‍याउनका लागि सहकार्य गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बाढी निम्त्याउन सक्ने अवस्था जस्तै:– साना नदीमा आउने आकस्मिक बहाव, हिमताल विस्फोट र अरू मौसमी घटनाको निरन्तर निगरानी गरिरहेको हुन्छ । यसपालि धेरै खोला नदीमा पूर्वसूचना प्रणाली स्थापना भएका छन् । जसले नदी र खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुग्न थालेपछि साइरन बजाएर सचेत गराउँछ । वर्षामा एकैचोटि ठूलो पानी पर्ने हुँदा धेरै ठाउँमा आकस्मिक बाढी आउने सम्भावना धेरै रहन्छ । स–साना नदीमा बाढीको एक दिन पहिले नै पूर्वानुमान गर्न सकिन्छ । यस्तै आकस्मिक अवस्थामा २ देखि ६ घण्टाअघि नै बाढीको पूर्वसूचना थाहा पाउन सकिन्छ ।

बाढीको प्रभाव धेरै पर्न सक्ने ठाउँमा तीन दिनअघि एसएमएसबाट जानकारी गराइन्छ । मुख्य नदी जलाधारमा बाढीको जोखिम रहेको ठाउँमा खतराको तह नजिकै पुग्न लागेमा वा पार गरेमा मुख्य नदी तथा जलाधार नजिक रहेका बासिन्दाको मोबाइल फोनमा नेपाल टेलिकम र एनसेलमार्फत सचेत रहन सूचना जान्छ ।

खतराको सङ्केत पाएपछि बाढीको जोखिम क्षेत्र वरपरका नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताका मोबाइल नम्बर ट्र्याक गरिन्छ । मोबाइल फोनको २४ घण्टाको गतिविधिको आधारमा नम्बर ट्र्याक गरिन्छ । आवश्यक जानकारी ११५५ नम्बरबाट सबै ट्र्याक गरिएका नम्बरमा पठाइन्छ ।

सूचना सामान्यतया पठाइएको ६ मिनेटदेखि २ घण्टाभित्र मोबाइल फोनमा पुग्छ । तर कुनै प्राविधिक र नेटवर्कको समस्याले सूचना प्रवाहमा समस्या हुन सक्छ । यस्तो अवस्थामा जति बेला नेटवर्क आउँछ त्यति बेला आफैँ सूचना जाने गरी प्रणाली तयारी भएको छ । सूचना नगएसम्म पटक–पटक सूचना पठाउने प्रयास गरिन्छ ।

खोला नदी आसपासका जोखिम ठाउँको नक्साङ्कन गरिएको हुन्छ । त्यसैअनुसार जानकारी तुरुन्तै प्रहरी, जिल्ला प्रमुख र स्थानीय प्रतिनिधिसहित सम्बन्धित अधिकारीलाई ई–मेल गरिन्छ । पूर्वसूचना प्रभावित हुन सक्ने नदी जलाधार क्षेत्रका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, विपद् न्यूनीकरणमा लागेका गैरसरकारी संस्थाका व्यक्ति, पालिका प्रमुख, वडाध्यक्षलाई समेत प्रवाह हुन्छ । यसरी कुनै अधिकारीले पाएको सूचनालाई स्थानीयले बुझ्ने भाषामा पुनः लेखन गरेर थप सहज गराउन सक्छन् ।

जुन ठाउँमा धेरै वर्षा हुन्छ, आकस्मिक बाढीको सम्भावना बढी हुन्छ, वर्षाको आधारमा जमिन कति भिजेको छ, नदी कटान, जमिन कति भिरालो छ त्यसका आधारमा पहिरो जाने अनुमान लगाउन सकिन्छ । त्यो ठाउँमा कति पानी पर्‍यो भन्ने कुराको आधारमा पहिरोको जोखिम पनि हुन सक्छ भनेर जानकारी दिने गरी पनि तयारी भइरहेको छ ।

यसरी बाढी र पहिरोको बढी जोखिम रहेको ठाउँमा पटक–पटक फोन नम्बर अपडेट हुन्छ । त्यसै आधारमा बाढी र पहिरो आउनुअघि नै जोखिम क्षेत्रका नागरिकलाई सचेत गराइन्छ ।

देशभरि कहाँ कति वर्षा भइरहेको छ वा कुन ठाउँको नदीको अवस्था के छ भनेर थाहा पाउन जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा गएर हेर्न सकिन्छ । आपत्कालीन कार्ययोजनामा आकस्मिक मौसम बुलेटिन र मौसम सूचना आवश्यकताअनुसार जुनसुकै बेला दिन सकिन्छ । dhm.gov.np, mfd.gov.np मा मौसमको अवस्थाबारे जानकारी हुन्छ । बाढीको जानकारी hydrology.gov.np बाट हेर्न सकिन्छ । बाढीको जानकारी ट्विटर अर्थात् एक्स पेजको नेपाल फ्लड अलर्ट मा राखिएको हुन्छ ।

बाढीको पूर्वसूचनाकै लागि टोल फ्री नम्बर ११५५ सञ्चालन भएको छ । मौसमसम्बन्धी अरू जानकारीका लागि फोन नम्बर ४११३१९१, ४११३३४५ चौबीसै घण्टा खुल्ला हुन्छ ।

(जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुनिल पाेखरेल

पोखरेल जल तथा मौसम विज्ञान विभागका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया