विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो

 असार ६, २०८१ बिहीबार १५:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश आइपुगेको छ । नेपाली टोलीलाई आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली टाेली बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरालगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरालगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा भएको प्रतियोगितामा नेपाल समूह चरणभन्दा अगाडि जान सकेन । नेपालले चार खेल खेलेकोमा तीनमा हार बेहोर्दा एक खेल बराबरी भएको थियो । नेपाल विश्वकपको समूह ‘डी’ मा परेको थियो । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, बङ्ग्लादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए ।

अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक अङ्क पाएका थिए । त्यसपछि वेस्ट इन्डिजमा भएको तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको थियो ।

समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुग्दा नेपाल, श्रीलङ्का र नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएका थिए ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया