राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेको छ । यो वर्ष भर्खरै वर्षायाम शुरु भए पनि च्याउ खाएर बिरामी हुनेको सङ्ख्या धेरै छ ।
च्याउ खाएर ज्यान गुमाउनेको यकिन विवरण त छैन तर बर्सेनि ३० देखि ४० जनाले जङ्गली विषालु च्याउ खाएर अकालमै ज्यान गुमाउने गरेका छन् । वल्लो गाउँ, पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जङ्गली च्याउ खाएर मान्छे मरेको समाचार सुनिरहँदा पनि जङ्गलबाट च्याउ बटुलेर खान छोड्ने क्रम घटेको छैन ।
सबै च्याउ विषालु हुँदैनन् । नेपालमा अहिले झन्डै एक हजार तीन सय प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये झन्डै एक सय च्याउ मात्रै विषालु रहेका छन् । झन्डै एक हजार दुई सय च्याउ खाएर मानिसलाई हानी गर्दैन । एक हजार दुई सयमध्ये केही प्रजातिका च्याउ मानिसका लागि लाभदायक पनि छन् । तर पहिचान गर्न नसक्दा च्याउ खाएकै कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।
विषालु च्याउ कसरी चिन्ने ?
धेरै मानिसले वर्षाैँदेखि खाइरहेको च्याउ सजिलै चिन्छन् । केही यस्ता प्रजाति छन् जसलाई जङ्गल छेउका बासिन्दाले बर्सेनि सङ्कलन गर्ने गरेका छन् । परम्परागत रूपमै त्यस्ता च्याउ बारेको ज्ञान पुस्तान्तरण हुँदै आएको छ । तर कतिपय अवस्थामा सधैँ उम्रने ठाउँमा उस्तै–उस्तै देखिने च्याउ पनि विषालु हुन सक्छ । त्यसैले सधैँ खाने गरेको प्रजातिको च्याउमा पनि केही फरक जस्तो लाग्यो भने त्यो खानु हुन्न ।
धेरैजसो च्याउको बाहिरी आवरण हेरेर विषालु हो कि होइन भन्ने छुट्याउन सकिँदैन । तर केही गुण भने हुन्छन् । विषालु च्याउमा किरा लाग्दैन । विषका कारण किरा नलाग्ने भएकोले भेटिएको एउटा प्रजातिको च्याउमध्ये कुनैमा पनि किरा लागेको छैन भने त्यो विषालु हुन सक्छ भनेर बुझ्नुपर्छ ।
यस्तै जङ्गलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ, त्यसमा झुसको मात्रा अत्यधिक छ वा च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ । त्यस्तै च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ्ग फेरिन्छ भने त्यो विषालु हुन सक्छ ।
यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ । धेरैजसो विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खानयोग्य च्याउ केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ ।
च्याउको विष हटाउन सकिँदैन
समाजमा सबैभन्दा प्रचलित भनाइ विषालु च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाएर हेर्नु भन्ने हो । तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा यो विधिलाई भरपर्दो मान्न सकिँदैन । च्याउमा अनेकथरी विष हुने भएकाले छुट्याउनलाई एउटा मात्रै विधिले काम गर्दैन । यस्तै खरानी, सिस्नु, टिमुर, अमिलो लगायतले विष मार्छ भन्ने मान्यता पनि समाजमा पाइन्छ । तर यस्ता विधिले च्याउमा हुने विष हटाउन सकिँदैन ।
त्यस्तै विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् लगायतका भ्रम पनि पाइन्छ । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । त्यसैले नचिनेको च्याउ खानै हुन्न । जङ्गलबाट ल्याएको च्याउ खानुअघि त्यो च्याउ स्पष्ट चिन्नुपर्छ । पकाउँदा अपनाइने विधिले च्याउको विष पूरै हटाउन नसक्ने भएकोले त्यस्ता विधिको पछि लाग्नु हुँदैन ।
विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जसमा आँखाबाट आँसु आउने, मुखबाट र्याल निस्कने, जीउ बाउँडिने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, पिसाब थोरै र कालो आउने, बेहोस हुने लगायत लक्षण धेरैलाई देखिन्छ । विषेशगरी च्याउको विषले मिर्गाैला तथा मुटुमा धेरै असर गरेको पाइन्छ ।
बिरामीलाई तत्काल अस्पताल लैजानुपर्छ
च्याउ खाइसकेपछि कसैलाई धेरै लक्षण देखिन्छ । कसैलाई कुनै एक/दुई वटा मात्रै लक्षण देखिन सक्छ । तर लक्षण जे–जस्तो भए पनि अस्पताल जान ढिला गर्नु हुँदैन । च्याउमा हुने विषले शरीरमा धेरै हानी गर्ने भएकोले जतिसक्दो छिटो अस्पताल गइहाल्नुपर्छ । सम्भव भएमा विषालु जङ्गली च्याउ खाएको थाहा हुनेबित्तिकै बान्ता गराउनुपर्छ । यसले शरीरमा विषको मात्रा कम गर्न सहयोग पुर्याउँछ । तर यसले मात्रै हुन्न । त्यसैले बान्ता गराउनेभन्दा बाहेक अरू प्राथमिक उपचारमा नलागि जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ । तर सबैभन्दा राम्रो कुरा नचिनेको च्याउ खानै हुँदैन ।
सचेतना आवश्यक
वल्लो गाउँ, पल्लो गाउँ या आफ्नै जिल्ला वा पल्लो जिल्लामा जङ्गली च्याउ खाएर मान्छे मरेको समाचार सुनिरहँदा पनि जङ्गलबाट च्याउ सङ्कलन गर्ने क्रम घटेको छैन । कसैले च्याउ नखाउ भन्यो भने च्याउ खाएरै बूढो भइयो भन्ने धेरै छन् । जङ्गली च्याउ खानेमा दृढता छ । धेरैले चिनेकै च्याउ खाइरहेका हुन्छन् । तर कतिपय अवस्थामा सधैँ खाइरहने ठाउँको र उस्तै च्याउ खाँदा पनि विषालु पर्न सक्छ । त्यसैले उही ठाउँको च्याउमा पनि केही फरक पो छ कि भनेर हेर्नुपर्छ । च्याउबारेमा थप अनुसन्धान र च्याउका जोखिमबारेमा सबैलाई सचेत बनाउनुपर्छ । सबैभन्दा ठूलो कुरा उपभोक्ता सचेत बन्नुपर्छ । मानिसका लागि लाभदायक च्याउ पनि छन् । तर नचिनिकन कुनै पनि च्याउ खान हुन्न ।
(वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागअन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानमा कार्यरत जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकसँगको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. पाठक जडीबुटी तथा वनस्पति विज्ञ हुनुहुन्छ ।