भरतपुर महानगरले ल्यायाे ६ अर्ब ५५ करोड रुपैयाँकाे बजेट

 असार १०, २०८१ सोमबार १८:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेश गरेको छ ।

महानगरपालिकाको नगरसभा तथा १५ औँ अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालू आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँले बढी हो ।

कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख तथा बाग्मती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता/श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपमेयर अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३० करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको बताउनुभयो । जसलाई अन्तरसरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने छ ।

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरू समयमै सम्पन्न गर्नका लागि १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय 'सिलिङ' निर्धारण गरिएको अधिकारीले बताउनुभयो । वडालाई न्यूनतम २ करोड ७४ लाख २८ हजार र अधिकतम २ करोड ९० लाख २ हजार गरी वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

यस्तै महानगरपालिकाका ठूला तथा रणनीतिक महत्त्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवम् सङ्घीय र बाग्मती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरूको कार्यान्वयन गर्नका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महानगरभित्र सार्वजनिक शौचालय निर्माण, फाउन्डेशनसहितको मेसजाली निर्माण, हरियालीसहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा एक खुला व्यायमशालालगायतका शहरी सौन्दर्य र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्नका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी सङ्ग्रहालयका रूपमा सञ्चालनमा ल्याउनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, किसानको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालनलगायतका कृषिसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्य फर्ममा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान निरन्तरतालगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै महानगरले शहरी पूर्वाधार, भू–उपयोग तथा बस्ती विकास र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत/सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवम् हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन र युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया