प्रचण्डको ‘जादुवाला नम्बर’ ले काम गरेन, माओवादी अब यता न उता

 असार १८, २०८१ मंगलबार ११:५:४ | अर्जुन पोख्रेल
unn.prixa.net

केही दिनअघि काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जादुवाला नम्बरबारे बोलेको कुरा अहिले चर्चामा छ ।

प्रचण्डले भन्नुभएको थियो, ‘केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोशिश भएको छ । यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन । हाम्रो इतिहास र मुद्दाले गर्दा पनि हटाउन सजिलो छैन । त्यसमाथि हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

तर पछिल्ला घटनाक्रम हेर्दा प्रचण्डको दलसँग भएको ३२ सिटको जादुवाला नम्बरले अब काम गर्न छाडेको छ । किनकि नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा सरकार गठनदेखि संविधान संशोधनसम्मका विषयमा सहमति भएको छ । साना दलले च्याँखे थाप्ने र सधैँभरि सरकार अस्थिर भइरहने प्रवृत्ति हटाउन संविधान संशोधन गरेर समानुपातिक प्रणालीलाई पुनर्विचार गर्ने एजेन्डामा दुवै दल सहमतिमा पुगेका छन् । यस्तै शान्ति प्रक्रिया टुङ्गो लगाउने तथा राष्ट्रिय मुद्दामा एक मत बनाएर अघि बढ्ने लगायतका विषयसँगै दुई दल मिलेरै सरकार बनाउन पनि सहमति भएको छ । सरकारको नेतृत्व र  मन्त्रालय भागबण्डाको समेत कुरा मिलिसकेको छ ।

एमालेसँग सहकार्यको कुरा अघि बढ्न धेरै राम्रो हो : रिजाल

गएको शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर साढे दुई घण्टाभन्दा लामो छलफल गरेपछि कुरा धेरै अघि बढेको थियो । मूल मुद्दामा कांग्रेस र एमाले नमिलेसम्म देशमा स्थिरता नहुने भएकाले कुराहरू धेरै अघि बढिसकेको बताउनुहुन्छ, कांग्रेसका नेता मीनेन्द्र रिजाल ।

लामो समय एमाले र कांग्रेस सहकार्य नै गर्दैनन् भन्ने भाष्य निर्माण भए पनि अब त्यो भाष्यबाट माथि उठ्न थालेको रिजालको भनाइ छ ।

‘यो तरिकाले देश चल्दैन भनेर मैले धेरै पहिलेदेखि नै भन्दै आएको थिएँ, हामीले पटक पटक संवाद गर्न खोज्दा एमाले तयार भएको थिएन । अब एमाले संवादमा आएको छ, खुशीको कुरा हो’, नेता रिजालले भन्नुभयो, ‘हामीले निकै दुःख गरेर बनाएको संविधानमा पनि केही कमजोरी रहेछन्, अहिलेकै निर्वाचन प्रणाली कायम राख्दा हाम्रो व्यवस्थामाथि नै खतरा हुने भएकाले एमाले र कांग्रेसबीच सहकार्य हुन लागेको हो ।’

एमाले र कांग्रेसबीच सहकार्य हुनुलाई अरू कुनै दल सिद्ध्याउने योजनाको रूपमा नबुझ्न रिजालको आग्रह छ ।

‘अहिलेकै चक्र चलिरहने हो भने देशमा कहिल्यै स्थिरता नहुने भयो, समृद्धि केवल भाषणमा सीमित हुने भयो । त्यसैले दुवै दलका साथीहरूले एउटा अग्रसरता लिनुभएको छ, यसलाई टुङ्गोमा पुर्‍याउनुपर्छ, अरू दल आत्तिनुपर्दैन’, रिजालले भन्नुभयो ।

अहिले विविध विषयमा एमालेसँग सहकार्य हुन लागे पनि दुवै दल फरक फरक विचारधाराका भएकाले दुवै दल प्रतिस्पर्धी हुन् भन्ने कुरा भुल्न नहुने पनि रिजालको भनाइ छ ।

कोही आत्तिनुपर्ने र मात्तिनुपर्ने छैन : राजन भट्टराई

संसदमा ८०/९० सिट भएका दललाई २०/३० वटा सिट भएका दलले हेप्ने र सत्ताको पाङ्ग्रा घुमाइरहने अवस्थाबाट दुई वटा ठूला दल वाक्क छन् । त्यसैले एमालेसँगको सहकार्यको विषयमा कांग्रेसका नेताहरू गएको शनिवारदेखि नै उत्साहित देखिन्छन् । तर एमालेका नेताहरू भने सोमवार रातिसम्म पनि खुलेर बोलेका थिएनन् । हुन त बाहिर खासै कोही नबोले पनि गएको फागुनमा भित्रभित्रै खिचडी पाकेर कांग्रेस र माओवादीको गठबन्धन फुट्ने अनि एमाले र रास्वपासँग नयाँ समीकरण बनेको थियो । यसपटक पनि त्यस्तै भएको छ ।

एमालेका नेता राजन भट्टराई कांग्रेस र एमाले नजिक हुँदा कोही आत्तिनुपर्ने र कोही मात्तिनुपर्ने आवश्यकता नरहेको बताउनुहुन्छ ।

‘देशमा रहेका कतिपय समस्या समाधानका लागि अहिले संविधान संशोधनको कुरा आएको छ, संविधान संशोधनका लागि एमाले र कांग्रेसबीच सहकार्य नभई हुँदैन, त्यसैले आवश्यकताका आधारमा दुई वटा दलबीच छलफल र संवाद हुनु राम्रो कुरा हो । अध्यक्ष सहमतिलाई सकारात्मक रूपमा लिउँ, कोही आत्तिनुपर्ने र कोही मात्तिनुपर्ने जरुरी छैन’, भट्टराईले भन्नुभयो ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय, देशमा आर्थिक अवस्था सङ्कटमा परेको विषय, विकास निर्माणले अपेक्षाअनुसार गति लिन नसकेको लगायतका विषयमा पनि दलहरू मिल्नुको विकल्प नभएको भट्टराईको भनाइ छ ।

माओवादीका नेताहरू तीनछक

गएको शनिवार केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेट भएपछि माओवादीका नेता कार्यकर्ता धेरै तर्सिएका थिए । तर आइतवार र सोमवार दिनमा प्रचण्ड र ओलीबीच पनि भेट बाक्लिएपछि उनीहरूको मन केही हदसम्म शान्त भएको थियो । नेताहरू भेटेकै विषयलाई लिएर सत्ता समीकरण फेरिने हल्लाको लाग्न नहुने माओवादीका नेताहरूले बताएका थिए ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा माओवादीका नेता माधव सापकोटाले भन्नुभएको थियो, ‘दुई दिनको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गो राजनीति तरङ्गित भएको छ । अनौपचारिक संवाद हुँदा, समाचारहरू अध्ययन गर्दा सिङ्गो राजनीति तरङ्गित हुने जस्तो देखियाे । सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर चर्चा भएको छ । तर दुई जना नेता बस्दैमा पूरै सत्ता गठबन्धन उलटफेर हुने नयाँ परिस्थिति हुने भन्दै चाँडै निष्कर्ष पुग्ने परिपाटीले स्थिरताको मानसिकता दिँदैन। यसबारे घटनाक्रम हेर्दा पनि सत्यता भएजस्तो लाग्दैन ।’

तर माओवादीका नेता कार्यकर्ताले अब भने केही दिन खुशी मनाउन पाउने छैनन् ।

अहिले बर्खाको मौसम छ, कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ पत्तै हुन्न । ठ्याक्कै यस्तै छ, नेपालको सत्ता समीकरण । कुन बेला कुन दल कता मिल्छ अनि नयाँ नयाँ समीकरण बन्छन् । टुङ्गै हुँदैन ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया