नयाँ आर्थिक वर्षसँगै बजेट कार्यान्वयनमा

 साउन १, २०८१ मंगलबार ९:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । सरकारले चालू आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

जसअनुसार चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१ प्रतिशत), पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गएको वर्ष कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो तर माघ अन्तिममा १५ खर्ब ३० अर्ब बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गरिएको थियो । बितेको आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको बजेटमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै 'डिजिटलाइजेसन र कृषिमा लगानी दशक' घोषणा गरिएको छ ।

त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने, सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्नेलगायत कार्यक्रम समेटिएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने गरी नै अगाडि बढ्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया