बजेट कार्यान्वयन मार्गदर्शन : राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्नुपर्ने

 साउन ३, २०८१ बिहीबार ९:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र पालिकालाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मार्गदर्शन परिपत्र गरेको हो ।

मार्गदर्शनमा राष्ट्रिय प्राथमिकताका आयोजना समयमै सक्नको लागि दुई सिफ्टमा काम हुने व्यवस्था मिलाउन भनिएको छ । आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अङ्क हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

आयोजनाको भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन अर्थ मन्त्रालयले भनेको छ । यद्यपि पहिलो त्रैमासिक भुक्तानीका लागि भौतिक प्रगति भने आवश्यक नपर्ने मार्गदर्शनमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम, आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि नबढाउन पनि निर्देशन दिइएको छ ।

मार्गदर्शनमार्फत अर्थ मन्त्रालयले सरकारी कार्यालयमा पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, भ्रमण खर्चलगायतका शीर्षकमा अधिकतम मितव्ययिता अपनाउन भनेको छ । त्यस्तै सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभा हल प्रयोग गर्न निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयको मार्गदर्शनअनुसार चालु आर्थिक वर्षमा प्रोत्साहन भत्ता, अतिरिक्त समयलगायतका भत्तामा खर्च लेख्न नपाइने भएको छ । मर्मतसम्भार गर्दासमेत सञ्चालनमा आउन नसक्ने गाडी, फर्निचर, कम्प्युटर, ल्यापटपलगायतका सामग्री अनिवार्य रूपमा छ महिनाभित्र लिलाम बिक्री गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया