बर्खायाममा कान किन धेरै पाक्छ ? कसरी बच्ने ?

 साउन ८, २०८१ मंगलबार १५:५:१७ | डा. आनन्द घिमिरे
unn.prixa.net

फाइल फाेटाे

बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खायाममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् । याे समयमा धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका साथै गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । योबाहेक पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरूले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको जाँच गर्नुपर्छ ।

पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका बिरामीसमेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाच्छिउँ आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।

कानको रोगका लक्षणहरू

– कान चिलाउने
– कान अत्यधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कान भित्रबाट पिप वा पानी बग्ने समस्या

धेरैजसाे मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्‍याे भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?

– पौडी खेल्न जाँदा एअर प्लग लगाउने
– पौडी खेल्दा कान छोप्ने
– डाइभ भरसक नगर्ने
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले कानेगुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने 'मेकानिज्म' बनाएको हुन्छ । कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । यस्तै कान पाक्ने समस्यासम्बन्धी आमजनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।

(नाक, कान, घाँटी विशेषज्ञ डा. घिमिरे विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ नाक, कान, घाँटी विभागको प्रमुख हुनुहुन्छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. आनन्द घिमिरे

डा. घिमिरे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया