सौर्यले ४ जना व्यवस्थापकसहित प्राविधिकहरू गुमायो, नियमित मर्मतका लागि पाेखरा जाँदै थियाे विमान

 साउन ९, २०८१ बुधबार १७:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विमानमा रहेका १९ जना नै सौर्य एअरलाइन्ससँग सम्बन्धित रहेका छन् । शुरुमा सौर्य एअरलाइन्सले सबै जना कम्पनीमै आबद्ध व्यक्ति रहेका बताएको थियो । तर विमानमा रहेकी महिला र नाबालक सौर्य एअरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेका खुलेको छ । १७ जना भने सौर्य एअरलाइन्सका चालकदल, व्यवस्थापक एवम् प्राविधिक रहेका छन् । विमानमा को–पाइलट सुशान्त कटुवाल, चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा रहेका एअरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा परेको विमान 'सी–चेक' अर्थात् नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । सौर्य एअरलाइन्सले पोखरा विमानस्थलमा रहेको ह्याङ्गर आजदेखि एक महिनाका लागि मागेर प्राविधिकसहित पोखरा लैजान लागेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । पोखरामा तीन वटा विमान अटाउने ह्याङ्गर छ । जसमा यति एअरलायन्सले एउटा विमान यस्तै मर्मतका लागि राखेको छ । नेपालमा त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र नेपालगञ्जमा ह्याङ्गर छन् । ह्याङ्गरमा राखेर विमान मर्मत गरिन्छ ।

'सी–चेक' भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने नभई नियमित मर्मत–सम्भार हो । हरेक विमानकाे डेढदेखि दुई वर्षमा 'सी–चेक' गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाजका सिटलगायतका धेरैजसो 'पार्ट' खोलेर जोड्नुपर्ने भएकf]ले प्राविधिकको ठूलो समूह संलग्न हुन्छ । आजको दुर्घटनासँग यो मर्मतको सम्बन्ध नरहने जानकारहरू बताउँछन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया