शेयर बजार कमाउने थलो हो, तर अन्धाधुन्ध लगानी गर्दा डुब्ने जोखिमबारे जानकार हुनैपर्छ

 साउन २९, २०८१ मंगलबार १८:३३:११ | निरज गिरी
unn.prixa.net

सामान्यतया नेपालको प्रवृत्ति हेर्दा नयाँ आर्थिक वर्ष शुरू भएपछि शेयर बजार बढ्ने देखिन्छ । यो वर्ष पनि नयाँ वर्ष शुरू हुन केही दिन अघिदेखि बजार बढिरहेको छ । तर अहिले जुन किसिमले शेयर बजार बढेको छ, कतिपय लगानीकर्ता रेल नै छुट्न लागेजस्तो हतारमा देखिन्छन् । आफूसँग भएको लगानी अनुसारको शेयर किन्नेहरू निकै सक्रिय छन् । तर नयाँ र साना लगानीकर्ता धेरैजसो शेयर बजारको आधारभूत ज्ञान पनि नलिइकन प्रवेश गरेको जस्तो देखिन्छ ।

बजार बढ्नका लागि अर्थतन्त्रका आधारभूत कुराले पनि सहयोग गर्नुपर्छ । किनकि हामीले कम्पनीको शेयर किन्ने हो, जुवा खेल्न बजारमा प्रवेश गरेको होइन । कम्पनीको वित्तीय अवस्था के छ, लगानी फिर्ता दिन सक्छ कि सक्दैन भन्ने कुराको ख्याल गर्नुपर्छ । अहिले फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जालमा गरिने संवाद सुनेर पनि मानिसले शेयरमा लगानी गरेको देखिन्छ । सामाजिक सञ्जालमा सुनेकै भरमा विभिन्न कम्पनीमा लगानी गर्नेहरूको भीड देखिन्छ । तर त्यसको जोखिम चाहिँ कति हुन्छ भन्ने विषयको जानकारी हुँदैन ।

हल्लाको भरमा ऋण लिएर समेत शेयरमा लगानी गर्ने, पछि शेयर बजार घटेपछि ऋण तिर्न आउँदा आन्दोलन गरेका हामीले देखेका छौँ । त्यसैले त्यो अवस्थालाई पनि विचार गर्नुपर्छ । आधारभूत कुरा नहेरिकन अन्धाधुन्ध शेयरमा गरेको लगानी दिगो हुँदैन ।

सही सूचना लिएर मात्रै शेयरमा लगानी गर्नुपर्छ

मौद्रिक नीति आए पनि यसको कार्यान्वयन हेर्नै बाँकी छ । असारको मध्यसम्म सुनसान रहेको शेयर बजार अहिले एकाएक किन बुलिस ट्रेन्डमा गयो त भनेर बुझ्नुपर्छ । असारको १५ गतेपछि देशको आर्थिक क्षेत्रमा के त्यस्तो उथलपुथल भयो ? कम्पनीको प्रदर्शनमा के आमूल परिवर्तन देखिएको छ ? आखिर पहिले र अहिलेमा खासै फरक छैन । अनि गएको आर्थिक वर्षमा कुन कम्पनीले के कस्तो कारोबार र व्यापार व्यवसाय गरे भन्ने कुरा पनि लगभग आइसक्यो । धेरैको आर्थिक तथा वित्तीय अवस्था खासै राम्रो त देखिएन, तर शेयर बजार भने उकालो लागेको लाग्यै छ ।
मौद्रिक नीतिले शेयर बजारका लागि धेरै राम्रो नगरे पनि नराम्रो गरेको छैन । अर्थतन्त्र चलायमान बनाउनका लागि खुकुलो नीति आएकाले लगानीकर्तामा ऊर्जा थपिएको भने पक्कै हो । आउने दिनमा शेयर बजार राम्रो हुनसक्छ भन्ने अपेक्षाकृत धारणाले पनि बजार बढेको मेरो अनुमान छ ।

अहिले बजारमा सकारात्मक सर्किट लाग्नका लागि कुनै कारण नै नचाहिने जस्तो देखिएको छ । बजार खुल्नासाथ ४ प्रतिशतले बढेर कारोबार नै बन्द भएको पनि देखेकै छौँ । बजार यसरी बढ्नुका पछाडि खास आधार छैनन् । एकमात्र कारण लगानीकर्ताको मनोबल हो ।

यस्तो बेलामा स–साना शेयर लगानीकर्ता अझ चनाखो हुनुपर्छ । यो पूँजी बजार हो । बजारमा अनेक थरीका मानिस हुन्छन् । हल्ला गर्छन्, झ्याली नै पिट्छन् । अरूको कुराको पछि लाग्दा झ्याली पिट्ने मानिसले भनेको कम्पनी कस्तो छ त भन्ने हामीले हेर्न जान्यौँ भने झ्याली पिट्ने मानिस आफैँ चुप लागेर बस्छन् । बजारमा अनेक सूचना आउँछन् । त्यो सूचनामध्ये सही सूचना लिएर मात्रै लगानी गर्नुपर्छ ।

शेयर बजारको अहिलेको अवस्था बेलुनको हावा जस्तै

कोभिडको समयमा लगानीका अरू क्षेत्र ठप्प भएपछि बजार बढिरहेको थियो । त्यो बेला सबै ठाउँमा लगानी बन्द हुँदा मानिसले शेयरमा लगानी गरेका थिए । कोभिडको असर कम भएपछि बाहिरी बजारमा चहलपहल बढेपछि नेप्से ३२ सयबाट झरेर १८ सय विन्दुमा झर्‍याे । बजार बढ्न र घट्न खासै ठूलो कारण चाहिएको थिएन । अहिले पनि खासै कारण छैन । अहिलेको अवस्था भनेको बेलुनमा हावा भरेजस्तो हो । बेलुन केही समय टिक्न पनि सक्छ, तर कुन बेला फुट्छ भन्ने टुङ्गो पनि हुँदैन । संस्थागत लगानीकर्ताले खुद्रा लगानीकर्ताले भन्दा बढी अध्ययन गर्छन् । उनीहरूले लगानी गर्ने कम्पनीको आधार छ कि छैन भन्ने कुरा हेर्छन् । हल्लामा शेयर किन्दैनन् । हल्लामा शेयर किन्ने भनेको स–साना लगानीकर्ता हुन् । अनि फस्ने पनि साना लगानीकर्ता नै हुन् ।

नियामकले अनुगमन गर्नुपर्छ

समयको चक्रले पनि शेयर बजार बढ्छ । हरेक सात/आठ वर्षमा बुलिस र बिअरिस आएको छ । त्यो चक्रमा कहिलेकाँही समयले पनि साथ दिन्छ । अहिले बजारमा केही कम्पनीको मूल्य बढेको छ । ती कम्पनीको आर्थिक र वित्तीय अवस्था ठिकठाक भएर बढेको होइन । वित्तीय अवस्था निकै कमजोर भएका कम्पनीको भाउ पनि दुई हजार रुपैयाँ हाराहारी छ । यस्तो बेला नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्चेन्जले अनुगमन गर्नुपर्ने देखिन्छ । बढेका कम्पनीको वास्तविकतासँग मूल्य मिलेको छ/छैन भन्ने हेर्नुपर्छ । ती कम्पनीले आफ्नो सही सूचना नदिएको पनि हुन सक्छ । यो कुरालाई नियामक निकायले हेर्नुपर्ने देखिन्छ । उजुरी आउँदा मात्र होइन, के रहेछ भनेर कहिलेकाँकी नियामक आफैँले पनि हेर्नुपर्छ ।

हाम्रो वित्तीय साक्षरतामा कमी छ । बजार बुलिस ट्रेन्डमा जाँदा नयाँ लगानीकर्ता प्रवेश गर्छन् र लगानीकर्ताले पैसा डुबाउँछन् । पुरानाले कमाउँछन् । फेरि अर्को बुलिसमा फेरि नयाँ लगानीकर्ता भित्रिन्छन् अनि अहिले लगानी गर्नेले कमाउँछन् । यो प्रक्रिया चलिरहन्छ । धितोपत्र बोर्डले शेयर नकिन्नु भन्न मिल्दैन । तर अर्थतन्त्र, कम्पनीको प्रदर्शन र स्टक सूचकको तालमेल हुनुपर्छ । तालमेल भएन भने बजारमा जोखिम बढ्न सक्छ । नियामक निकायले लगानीकर्तालाई सजग चाहिँ बनाइदिनुपर्छ । त्यसैले वित्तीय साक्षरता गराउन जरुरी छ ।

वित्तीय अवस्था राम्रो भएका, कारबाहीमा नमुछिएका र प्रतिफल दिन सक्छन् भन्ने खालका कम्पनीको शेयर अहिले पनि निकै तल छ । तीन करोड र ३० अर्ब रुपैयाँको कम्पनीलाई एउटै ठाउँमा राखिएको छ । अब पूँजी र प्रदर्शनका आधारमा कम्पनी छुट्याउनुपर्छ । अहिले हेर्दा साना, कम पूँजी भएका कम्पनीको शेयर अचाक्ली बढेको छ । गाउँका मानिससँग काम गर्ने माइक्रोफाइनन्स कम्पनीको शेयर मूल्य कति धेरै छ, हेर्नुहोस् त । यस्ता कम्पनीमा लगानी गर्न नयाँ लगानीकर्ताले विचार गर्नुपर्छ ।

अहिलेका ठूला र राम्रा कम्पनी मानिने बैंकहरूको पनि शेयर बढेको छैन । लगानीकर्ताले नेप्से सूचक र फ्लाट सूचक हेनुपर्छ । नेप्से सूचकमा बिक्री नहुने शेयर पनि गणना हुन्छ । तर फ्लट सूचक हेर्‍याे भने चाहिँ खासै बढेको छैन । फ्लट सूचकले यथार्थपरक जानकारी दिन्छ । लगानीकर्ता अहिले नेप्से सूचक हेरेर हौसिइरहेका छन् । हो, शेयर बजार भनेको कमाउने थलो हो, गुमाउनका लागि यहाँ कोही आउँदैनन् । तर शेयर बजारबाट पैसा आइरहने होइन, गइरहने पनि हुन सक्छ भन्नेतर्फ सचेत हुनुपर्छ ।

(नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निरज गिरी

गिरी नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया