एनसेलकाे राेमिङ सेवामा ओटीपी, एसएमएस अलर्ट

 साउन ३१, २०८१ बिहीबार १२:४१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरी ग्राहक पहिचान प्रणाली (केवाईसी) मा मोबाइल नम्बर चाहिने र आमनेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएकाे छ ।

विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको अहिलेकाे अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेशनका रूपमा प्राप्त गर्ने गर्दछन् । यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरू सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका सङ्घ–संस्था, गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।

‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेzनको सकारात्मक सूचक हो जसले हाम्रा ग्राहकहरू सधैँ अन रहेको देखाउँछ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भन्नुभयाे, ‘शुरुआतमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौँ कि ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएका छन् । उदाहरणका लागि एनसेलका ग्राहकहरूले आन्तरिक राजस्व कार्यलय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक सञ्जालहरूबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।’

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेशन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता जानकारी तथा सूचनाहरू प्राप्त गर्न योग्य रहेको बताएको छ । साथै एनसेलले अन्य शर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गएकाे वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

‘केही शर्ट–कोड सञ्चालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौँ । सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूका लागि पनि पहुँचयोग्य छन्’, मोहसिनले भन्नुभयाे, ‘यसबाहेक केही समस्या भए ग्राहक र शर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् ।’

साथै ९७० नम्बर रेन्जमा ग्राहकहरूले शुरूका ९७०५ बाहेक अन्तिम छ अङ्क आफैँले सधैँ अन विशेष नम्बरका रूपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ । यसले ग्राहकहरूलाई आफू वा आफ्ना प्रियजनहरूका लागि आफ्नो रोजाइको नम्बरहरू प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया