भोलि जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

 भदौ २, २०८१ आइतबार १२:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र यसपाली बिजुली बत्ती पनि बालिएकाले तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

गोसाईंकुण्ड मेला भर्न आउनेको सुरक्षाका लागि एक सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन तथा बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहकोसमेत व्यवस्था गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो ।

तीर्थस्थल गोसाईंकुण्डमा पुग्ने तीर्थालु भक्तजनलाई रातको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । २०३८ सालमा रसुवामा विद्युत् सेवा विस्तार भए पनि गोसाईंकुण्डमा पहिलो पटक अस्ति शुक्रावार विद्युत् लाइन जडान गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईकाअनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाईंकुण्डमा दुई सयभन्दा धेरै बत्ती बालिएको छ । बिजुली पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, गोसाईंकुण्ड गाउँपालिका, स्थानियबासिन्दालगायतले सहयोग गरेका उहाँको भनाइ छ । चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्‍याइएको प्रमुख भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया