मुग्लिन–आँबुखैरेनी सडक झन्डै ७ घण्टापछि खुल्यो, मर्स्याङ्दीमा खसेकाे भारतीय गाडी प्रहरीले निकाल्न सकेन

 भदौ १०, २०८१ सोमबार १४:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रहरीले मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न बन्द गरेको मुग्लिन–आँबुखैरेनी सडक खुलाएको छ । साढे तीन घण्टा सडक बन्द गर्ने भन्दै प्रहरीले बिहान साढे ६ बजेदेखि बन्द गरेको सडक दिउँसो झन्डै २ बजेमात्रै खुलाएको हो ।

बसलाई खोला किनारबाट केही माथि ल्याएको भए पनि निकाल्न सम्भव नभएपछि गाडी निकाल्ने काम बन्द गरेर सडक खुलाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो । स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म गाडी आवागमन बन्द गरिएपछि यात्रुहरू अलपत्र परेका थिए । यात्रुको समस्यालाई ध्यान दिएर गाडी ननिकाली बाटो खुलाएको डीएसपी रायले बताउनुभयो ।

गएको शुक्रवार पोखराबाट भारतीय तीर्थयात्री लिएर काठमाण्डाैतर्फ गुडरहेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने ठाउँबाट मर्स्याङ्मा खस्दा २७ जनाको ज्यान गएको थियो । शवहरू सङ्कलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास गरेकोमा आज असम्भव भएको हो ।

अहिले बाटो खुलेको भए पनि बिहानदेखि लागेको गाडीको लामो लाइनका कारण मुग्लिन–आँबुखैरेनी सडकमा गाडीको अत्यधिक चाप रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया