सडक सुरक्षामा नेपालकाे अवस्था दक्षिण पूर्वी एशियामै सबैभन्दा खराब : विश्व स्वास्थ्य सङ्गठन

१० वर्षमै २४ हजार जनाले ज्यान गुमाए

 भदौ १९, २०८१ बुधबार १५:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सडक सुरक्षाका दृष्टिमा नेपालको अवस्था दक्षिण पूर्वी एसियाका १० देशमध्ये सबैभन्दा खराब रहेको जनाएको छ ।

अस्ति सोमवार सार्वजनिक प्रतिवेदनमा नेपालमा प्रति एक लाख मानिसमा २८ दशमलव २ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको र यो दक्षिण पूर्वी एशियाका १० देशमध्ये सबैभन्दा उच्च रहेको उल्लेख छ ।

सन् २०११ मा नेपालमा सडक दुर्घटनाका कारण झन्डै ६ हजार आठ सय जनाले ज्यान गुमाएकोमा सन् २०२१ मा झन्डै आठ हजार पाँच सय जनाले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले सडकमा जोखिम झनै बढिरहेको जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा २२ प्रतिशतभन्दा धेरै पैदलयात्री र साढे ३ प्रतिशतभन्दा धेरै साइकल चालक रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सडक सुरक्षाका लागि निर्धारण गरेका १२ वटा लक्ष्यमध्ये राष्ट्रसङ्घको सडक सुरक्षासँग सम्बन्धित महासन्धिहरूमा आबद्ध हुने बाहेक अरू सबैमा नेपालको प्रस्तुति कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । तर सरकारको पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमै सडक दुर्घटनामा २४ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

सडक सुरक्षामा नेपालमा रहेका कमजोरीलाई बुँदागत रूपमा उल्लेख गरेको प्रतिवेदनमा डब्ल्यूएचओले नेपाललाई सडक सुरक्षा कायम गर्न तत्कालै राष्ट्रिय रणनीति र समयतालिकासहितको कार्ययोजना ल्याउन, सडकहरूको सुरक्षा अडिट गर्न र दुर्घटनापछिको आपत्कालीन उद्धारसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न सुझाव दिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया