मध्य असोजसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

 भदौ २२, २०८१ शनिबार १२:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो ।

उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । अहिले ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्छ ।

डाक्टरका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । डाक्टर गौतमका अनुसार गएको पुसदेखि अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६ सय ८० मध्ये ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सामान्यतयाः लामखुट्टेले टोकेको छ देखि १६ दिनमा रोगका लक्षण देखा पर्छन् । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता जापानिज इन्सेफ्लाइटिस रोगका लक्षण हुन् ।

विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।

जापानिज इन्सेफ्लाटिस धेरैजसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छ । सरकारले १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया