काठमाण्डौको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार ९ वर्षसम्म पनि अधुरै

 भदौ २२, २०८१ शनिबार १२:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवन निर्माणको काममा ढिलासुस्ती भएको छ । २०७३ सालमा दुई वर्षभित्र सक्ने गर्नेगरी काम शुरु भएको बहुतले भवन अहिलेसम्म अधुरै छ । भवन निर्माणका लागि ११ औँ पटक थपिएको म्याद सकिन अब केही दिन मात्र बाँकी छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ साल असोजमा झण्डै ३५ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि पछिल्लो पटक २०८० चैत १३ मा भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११ औँ पटक म्याद थप भएको थियो । थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर ४० करोड माथि पुगेको छ ।

लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले काम तत्काल सक्न निर्देशनसमेत दिनुभएको छ । मन्त्री अधिकारीले हिजो निरीक्षणसहित निर्देशन दिनुभएको हो ।

विश्व बैंकको सहयोगमा त्यसबेला सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले निर्माण शुरु गरेको थियो । तर प्याक्ट आयोजनाको अवधि २०७५ मा सकिएपछि निर्माण र आवश्यक थप लगानीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयो  भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बङ्गलादेशी कम्पनी साम्सोजामोनले संयुक्त रुपमा पाएका थिए ।

सरकारले आर्थिक वर्ष २०७९/८० देखि यो बजार सञ्चालनमा ल्याउने बजेटमार्फत घोषणा समेत गरेको थियो । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने अपेक्षा छ । पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनका लागि मन्त्रालयबाट आवश्यक सहजीकरण गर्न तयार रहेको मन्त्री अधिकारीले प्रतिबद्धता समेत जनाउनुभएको छ ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया