गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली

 भदौ २३, २०८१ आइतबार ७:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो । साक्षरता कार्यक्रम सञ्चालनमा पालिकाको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो । 

गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको शुरुवात गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्‍याएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट 'ड्रपआउट' हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा अर्थ्याउनुभयाे । 

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर देशतर्फ अग्रसर हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो । ‘गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछु’, उहाँले भन्नुभएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया