कैलालीका एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारियो, कर्णाली नदीले सतर्कता तह पार गर्‍याे

 भदौ २८, २०८१ शुक्रबार १३:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – लगातारको वर्षाले बाढीको जोखिममा परेका कैलालीका एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका गरी एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको हो ।

जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जना, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई सुरक्षित ठाउँमा सारेकाे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

कैलालीका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । अरू ठाउँमा पनि पानी पर्नेक्रम रोकिएको छैन । कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १० दशमलव ९० मिटर पुगेको छ । कर्णाली नदीमा पानीको बहाव १० दशमलव ८० मिटर खतराको तह मानिन्छ ।

कर्णाली नदीले खतराको तह पार गरेपछि बर्दिया र कैलालीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ । त्यस्तै महाकाली नदीको डडेलधुरा परिगाँउ जलमापन केन्द्र र कन्चनपुरको दोधारा चाँदनी पुल जलमापन केन्द्रमा जलसतह खतरा तह आसपास रहेको छ ।

डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा आजरातिसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्य सडक ठाउँ–ठाउँमा पहिरो खसेका कारण अवरुद्ध छन् । केही क्षेत्रमा बिजुली बत्ति पनि अवरुद्ध छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया