काठमाण्डौ उपत्यकामा सडक भासिने, ठूलाे भ्वाङ पर्ने समस्या बढ्दै

 भदौ ३०, २०८१ आइतबार १०:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकाभित्रका सडक भासिने, ठूलो भ्वाङ पर्ने घटना बढ्दै गएका छन् ।

हिजो दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । यसअघि साउन ३० गते ललितपुरकै महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलमा पनि सडक भासिएको थियो । यस्तै गएको साउन २४ गते काठमाण्डाैकाे दरबारमार्गको महेन्द्र सालिकबाट काठमाण्डाै प्लाजा निस्कने बीचबाटोमै सडक भासिएर भ्वाङ परेको थियो ।

यस्ता घटनाले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ । काठमाण्डाै उपत्यकाको माटोको तह कमजोर रहेको, लगातारको झरीले माटो खुकुलो बनाई बगाएर लैजाने र जमिन भासिने समस्या देखापर्ने गरेको भूगर्भविद् सुबाेध ढकाल बताउनुहुन्छ । यस्तै सडक लगायतका संरचना बनाउँदा ख्याल नगर्नाले पनि भासिने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

भूगर्भविद् ढकालका अनुसार भासिएको सडक मात्र नभई त्यसको आसपासको क्षेत्र पनि जोखिमयुक्त हुन्छ । काठमाण्डौ प्लाजा नजिकको सडकमुनि टुकुचा खोला रहेको छ ।

यस्तै हिजो भासिएको ललितपुरको सडकमा पनि खोल्सा र इनार पुरिएको स्थानीय बासिन्दा बताउँछन् । यस्तै पानी भूमिगत हुने ठाउँ नहुनुले पनि जमिन भासिने समस्या बढ्ने विपद् विज्ञ केशव मलासी बताउनुहुन्छ ।

काठमाण्डौ उपत्यकामा सडकमुनि खानेपानीको पाइप बिछ्याएकोले कतिपय बेला पाइप फुटेर पनि सडक भासिने समस्या देखिएको पाइन्छ । व्यस्त रहने सडक सामान्य भासिँदा पनि ठूलो दुर्घटना हुने जोखिम रहेकोले सडक बनाउँदा सावधानी अपनाउनुपर्छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया