आज इन्द्रजात्रा : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

 असोज १, २०८१ मंगलबार ७:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी सात दिन मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको यःसिँलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । यःसिँको फेदमा इन्द्रको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका गद्दी बैठकमा देवीका रूपमा रहेका श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्रध्वजाको यःसिं ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको यःसिं ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताउनुभयो ।

आज राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो तीन बजे रथ तान्न शुरु हुने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

भारत भ्रमणका रहेका महानगरका मेयर बालेन्द्र शाह पनि इन्द्रजात्रा अवलोकनका लागि आजै फर्कन प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । यसैबीच भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा गरेर अनन्त चतुर्दशी पनि मनाइँदैछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया