वसन्तपुरमा इन्द्रजात्राकाे राैनक, राष्ट्रपतिद्वारा अवलाेकन (तस्वीरहरू)

 असोज १, २०८१ मंगलबार १७:३०:३६ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्र वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककाे जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो ।

गएकाे वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, पालिकाका जनप्रतिनिधिलगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो । इन्द्रजात्रा अवलाेकन गर्न सर्वसाधारणकाे पनि भीड लागेकाे थियाे ।

भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । भाेलि माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ५ गते शनिवार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । त्यही दिन दिउँसाे राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।

असोज ५ गते राति १० बजेर ३१ मिनेटमा इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा शुरू भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरू गर्नुभएको थियो । काठमाण्डाै उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज पूजाअर्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

तस्बिर : रासस

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया