अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

 असोज १, २०८१ मंगलबार १८:२९:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ । आज बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताउनुभएको छ ।

विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गर्नुभएको थियो । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनु हुनेछ ।

यसैबीच आतिशीले नयाँ मुख्यमन्त्री बन्नका लागि दाबी पेश गर्नुभएको खबरमा उल्लेख छ । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाउने भएको छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको अहम् जिम्मेवारी सम्हाल्नुभएको थियो ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वाेच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा हुनुभएको थियो । त्यसको दुई दिनपछि पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया