जिम्बावेले २ सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने

 असोज १, २०८१ मंगलबार १८:२४:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जिम्बावेले दुई सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने भएको छ । चार दशकको सबैभन्दा खराब खडेरीपछि तीव्र भोकमरीको सामना गरिरहेका समुदायलाई खुवाउन दुई सय वटा हात्ती मार्ने योजना बनाइएको जिम्बावे सरकारका मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

जिम्बावेले सन् १९८८ पछि पहिलोपटक जङ्गली जनावर मारेर नागरिकलाई मासु वितरणको योजना बनाएको खबरमा उल्लेख छ । 'एल निनो' मौसमी प्रणालीका कारण शुरू भएको खडेरीले दक्षिणी अफ्रिकामा बाली उत्पादन नहुँदा झन्डै सात करोड जना मानिस चरम भोकमरीमा पुगेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु प्राधिकरणका प्रवक्ता तिनाशे फरावोले अरू विकल्प नभेटेपछि हात्ती मारेर खडेरीबाट प्रभावित समुदायमा मासु वितरण गर्न लागिएको बताउनुभएको छ ।

जिम्बावेमा ८४ हजार वटाभन्दा धेरै हात्ती छन् । प्राधिकरणका प्रवक्ता फरावोले देशले अहिले ५५ हजार वटा हात्ती मात्रै धान्न सक्ने बताउनुभएको छ । एकातिर जङ्गलमा हात्तीको भीडभाड कम गर्ने र अर्कोतिर भोकमरीबाट केही राहत हुने भएकाले यो उपाय उत्तम रहेको सरकारको दाबी छ । ८४ हजार हात्तीमा दुई सय वटा मार्नु भनेको समुद्रबाट एक थोपा पानी निकाल्नु जस्तै भएको पनि फरावोको जिकिर छ ।

चर्को खडेरीका कारण वनजङ्गल र पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु बस्तीतर्फ आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने सम्भावना बढेको पनि खबरमा उल्लेख छ । गएको वर्ष जिम्बावेमा हात्तीको आक्रमणबाट ५० जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया