लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने सञ्चार सेटहरू एकैसाथ पड्किँदा १२ जनाको ज्यान गयो

 असोज २, २०८१ बुधबार १८:३०:३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । सञ्चार सेटहरू एकैसाथ पड्किएर भएको घटनामा दुई हजार आठ सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा हिजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी पनि रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन् । घाइते भएकामध्ये धेरैजसोको कम्मर, अनुहार, आँखा र हातमा चोट लागेको छ ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर सीएनएनले इजरायली गुप्तचर निकाय र सेनाले संयुक्त रूपमा आक्रमण गरेका जनाएको छ ।

हिजबुल्लाहले मोबाइल फोन ह्याक हुने र त्यसमा गरिएको कुराकानी ट्र्याक हुने जोखिम रहेको भन्दै पेजर प्रयोग गर्दै आएको छ । विस्फोट भएका पेजरहरू केही समयअघि मात्र हेजुबल्लाहले आपूर्ति गरेको थियो । विस्फोट हुनुअघि ती पेजरहरू निकै तातेका थिए । तर पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाइए पनि ती विस्फोट नहुने विज्ञहरू बताउँछन् । वाल स्ट्रिट जर्नलले पेजर निर्माणका क्रममै विस्फोटक वस्तु राखेको हुनसक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

लेबनान र उसको सहयोगी देश इरान दुवैले घटनाको कडा शब्दमा विरोध गरेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया