धरहरा निःशुल्क चढ्न पाइने, अनलाइन टिकट भोलिदेखि मात्रै

 असोज ३, २०८१ बिहीबार ७:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ ।

इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ । तर यो वेबसाइट बन्न बाँकी भएकाले आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ । एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउने इकाइका आयोजना निर्देशक अधिकारीले जानकारी दिनुभयो । त्यसबाहेक थप एक सय जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरू चढन् पाउनेछन् । अधिकारीका अनुसार एक पटकमा आठदेखि १० जनासम्मले पालैपालो धरहरा चढ्न पाउने व्यवस्था मिलाइएको छ । धरहराको माथि बार्दलीबाट बढीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

गएकाे भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैअनुसार शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले आज बिहान साढे १० बजेदेखि धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।

वनिर्मित आधुनिक धरहरा बनाउने काम भने अझै सकिएको छैन । आजदेखि मुख्य संरचनाहरू मात्र सञ्चालनमा ल्याउन लागिएको हो । आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टका साथै सिँढीको पनि व्यवस्था गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी छ ।

२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया