लेबनानमा 'हाते पेजर' पछि 'वाकीटकी' विस्फोट, कम्तीमा २० जनाको ज्यान गयो

 असोज ३, २०८१ बिहीबार ८:२४:५० | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र चार सय ५० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजबुल्लाहको पकड क्षेत्र बेरुत, बेका उपत्यका, दक्षिणी लेबनान लगायतका क्षेत्रमा वाकीटकी विस्फोट भएको खबरमा उल्लेख छ ।

केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको मन्त्रालयले जनाएको छ । यसअघि गएको मङ्गलवार हिजबुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको थियो ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । विस्फोटनको घटनाबारे इजरायलले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ । इजरायलका रक्षामन्त्री याभ गालान्टले ‘युद्धको नयाँ युग’ शुरू भएको बताएपछि इजरायली सेना पनि उत्तरी क्षेत्रमा तैनाथ गरिएको थियो ।

यसैबीच यो घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो खतराबारे चेतावनी दिँदै सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया