‘नेशनल डे कन्सर्ट’ले संविधान दिवसको रौनक बढायो (तस्बिरहरु)

 असोज ४, २०८१ शुक्रबार ६:१९:४५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – संविधान दिवसका अवसरमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’मनाउने घोषणा भएसँगै काठमाण्डौको दरबारमार्ग क्षेत्रमा केही दिनअघिदेखि नै चहलपहल फेरिएको थियो ।

नेपाल टेलिकमबाट एसएमएसमार्फत नै हरेकका मोबाइलमा यो कार्यक्रमबारे सूचना प्रसारण भएपछि नागरिकहरू स्वतःफुर्त रूमपा हिजो संविधान दिवसको दिन दिउँसो ४ बजे अघि नै दरबारमार्गमा राष्ट्रिय झण्डा बोकेर पुगेका थिए ।

झण्डा नल्याउनेहरूलाई झोलामा झण्डा बोकेर आएकाहरूले उपलब्ध गराएका थिए । जसका कारण दरबारमार्ग राष्ट्रिय झण्डाले राताम्य भएको थियो, जुन विजयीको उत्सवभन्दा फरक थिएन ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्रीहरू सहभागी हुँदा संविधान दिवसको रौनकता थपिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईको पनि सहभागिता थियो ।

छोटो समय उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले संविधान एवम् राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । नागरिकस्तर र कलाकारबाट यो भव्य कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरेर झण्डा फहराउँदै कार्यक्रमबाट बाहिरिनुभयो ।

उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ....’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरूले सङ्गीतको तालमा नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । लामो सङ्घर्षपछि कयौँ नेपालीहरूले ज्यान आहुति दिएर प्राप्त भएको उपलब्धिले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । त्यही खुसीयालीमा असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउन थालिएको हो । 

यसअघि सरकारीस्तरबाट अभियान चलाएर दिवस मनाउने गरिएको थियो । टुँडिखेलमा विशेष समारोह हुन्थ्यो भने सरकारी कार्यालयबाहेक अन्य क्षेत्रमा खासै कार्यक्रम हुन्थेन । तर हिजो दरबारमार्गमा भएको समारोहले संविधान दिवसको महत्त्व बढाएको सहभागीहरूले प्रतिक्रिया दिए ।

अपराह्न ४ बजेदेखि शुरु भएको नेशनल डे कन्सर्ट राति ठिक ८ः३० बजे सकिएको थियो । कन्सर्टमा सुरक्षाकर्मीसहित विभिन्न ब्याण्ड तथा कलाकारले दिएको प्रस्तुति (गीत सङ्गीत)मा उपस्थित दर्शक मजैले झुमे । अधिकांश प्रस्तुति राष्ट्रिय भावनाले ओतप्रोत थियो । उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै संविधान जारी गर्नुअघिको सङ्घर्ष सम्झिए भने नेपाली जनता आफैँले बनाएको संविधानको स्थायित्वको कामना पनि गरे ।

कन्सर्टको शुरुमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिँदा नै उपस्थित दर्शकले मनोरञ्जन लिन थालेका थिए । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले दिएको प्रस्तुतिलाई दर्शकले खुलेर साथ दिए । बीचबीचमा आतिसबाजी गर्दा राष्ट्रिय दिवस तथा संविधान दिवस महाउत्सवमा परिणत भएको थियो । 

नेपाली समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेशनल डे काउन्सिलले पहिलोपटक नागरिकस्तरबाट सर्वसाधारणका लागि यो अवसर प्रदान गरेको हो । समारोहमा सहभागी अधिकांशले राष्ट्रिय झण्डा फहराएका थिए भने दरबारमार्ग क्षेत्र महाउत्सवझैँ देखिएको छ । झण्डाले राताम्मे भएको छ । कार्यक्रममा कुटुम्ब ब्याण्डलगायत कलाकारले प्रस्तुति दिए ।

शुरुमा गायक सञ्जय तुम्रुकले ‘देशले रगत मागे मलाई बलि चढाउनु’ गीतबाट कलाकार प्रस्तुतिको दैलो उघार्नुभएको थियो । अनि गायिका देवीका बन्दनाले ‘नेपाली भएर बाँच्न पाऊँ’ गीत गाउनुभयो ।

गायक आनन्द कार्की ‘यो देश बन्छ’ गीत गाउँदा गायिका कुन्ती मोक्तानले शिलाबहादुर मोक्तानको सङ्गीत र बुद्धवीर लामाको रचनामा रहेको ‘लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भने नि हुन्छ हजुर म त नेपाली’ गीत प्रस्तुत गर्नुभयो ।

समारोहमा गायक सुगम पोखरेलले पछिल्लो समयमा देशमा घृणा फैलिरहेकामा चिन्ता प्रकट गर्दै दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यको सङ्गीत रहेको ‘नयाँ नेपाल’ बाट ‘हामी नेपाली, हाम्रै हो नेपाल, तराई पहाड हिमाल’बोलको गीत पस्किनुभयो । सुवानी मोक्तानले ‘मेरो देश मलाई लाग्छ प्यारो’ गाउनुभयो भने गायक दीपक लिम्बूले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्नुभएको थियो ।

‘नेशनल डे कन्सर्ट’को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया