एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण : दशैँ अघि नै कक्षा ११ मा भर्ना हुन सक्ने

 असोज ८, २०८१ मंगलबार ६:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी थिए । जसमध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन् ।

जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् । २०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

यसअघि असारमा सार्वजनिक भएको एसईईको नतिजामा आधाभन्दा कम ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ५० प्रतिशतभन्दा धेरै परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुन वञ्चित हुने भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा यसवर्ष अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

ग्रेडवृद्धि परीक्षामा उत्तिर्ण विद्यार्थीले दशैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् । उनीहरूले नियमित विद्यार्थीभन्दा दुई महिना ढिलो गरी भर्ना हुन सक्ने भएका हुन् । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया