मेलम्ची खानेपानी आयोजना :भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण

 असोज ८, २०८१ मंगलबार ७:७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका व्यक्ति र कम्पनीलाई हिजो सजाय निर्धारण गरेको हो ।

अदालतले गएको भदौ २५ मा खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको थियो । पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरिएको छ ।

अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष पूर्वसचिव ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको छ ।

अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।

अदालतले परामर्शदाता कम्पनी इप्टिसालाई छ करोड २१ लाख ९३ हजार पाँच सय ९६ तथा बेट्र्स सिएमसी डी राभेनालाई पनि जरिवाना तय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा अदालतले डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।  

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया