नेपालकाे अर्थतन्त्रमा सुधारकाे सङ्केत : आईएमएफ

अनुदान वितरण प्रभावकारी बनाउन सुझाव

 असोज ८, २०८१ मंगलबार १५:१२:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ ।

आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहेको आईएमएफ टोलीले भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने जनाएको हो । यो भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको अर्थतन्त्रले पुनरुत्थानको प्रारम्भिक सङ्केत देखाइरहेको छ । नयाँ तथ्याङ्कले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ । कर सङ्कलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको छ’, आईएमएफको विज्ञप्तिमा भनिएको छ । कर्जा विस्तारमा सुधार भइरहेको, मुल्यवृद्धि घटेको, विदेशी मुद्राको सञ्चिति बढेको लगायत सुधारका सङ्केत देखिएको आईएमएफको भनाइ छ ।

अर्थतन्त्र सुधारका सुरुवाती सङ्केत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्त्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ । सार्वजनिक लगानी कार्यान्वयनलाई सुदृढ गर्न, आन्तरिक राजस्व सङ्कलनलाई अझ सशक्त बनाउन र अनुदान वितरणलाई प्रभावकारी तथा छरितो गर्न आईएमएफको सुझाव छ । आईएमएफले बचत र ऋण सहकारी संस्थामा रहेका समस्या समाधानलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया