नेपालमा विदेशी वस्तुको आयात बढ्यो, निर्यात भने झन् झन् घट्दै

२ महिनामा १० अर्बको घिउ तेल, ६ अर्ब २४ करोडको तरकारी र फलफूल आयात

 असोज ८, २०८१ मंगलबार १६:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा दुई खर्ब २६ अर्ब ५४ करोड रुपैयाँको वस्तु विदेशबाट आयात भएको  छ । यो गएको आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा एक दशमलव शून्य आठ प्रतिशतले धेरै हो । तर निर्यात भने गएको वर्षको दुई महिनामा भन्दा पाँच दशमलव १२ प्रतिशतले घटेर २५ अर्ब नौ करोड रुपैयाँमै सीमित भएको छ । दुई महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ ।

आयात बढ्दा देशमा अर्थतन्त्र केही चलायमान हुने र भन्सार राजस्व बढ्ने सरकारको तर्क रहेको छ । दुई महिनामा भन्सार राजस्व १० प्रतिशतले बढेको छ । दुई महिनामा ७४ अर्ब ३१ करोड रुपैयाँको भन्सार राजस्व सङ्कलन भएको छ, यो गएको वर्षभन्दा ६ अर्ब रुपैयाँले धेरै हो ।

दुई महिनामा सबैभन्दा धेरै ४३ अर्ब २५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै १० अर्बको घिउ तेल, ६ अर्ब २४ करोडको तरकारी र फलफूल, पाँच अर्ब चार करोड रुपैयाँको खाद्यान्नलगायत आयात भएको छ ।

यसैगरी निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँको चिया र कफी निर्यात भएकाे छ । यस्तै दुई अर्ब ११ करोडको फाइबर, दुई अर्ब १३ करोडको कार्पेट, एक अर्ब ९५ करोडको फलाम र फलामजन्य वस्तु, एक अर्ब ७५ करोडको हस्तकलाका सामान, एक अर्ब २९ करोडको तरकारी र फलफूल तथा एक अर्ब २७ करोड रुपैयाँको खाद्यान्न निर्यात भएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया