मानव सिर्जित जलवायु परिवर्तनकै कारण मध्य युरोपमा ठूलो बाढी आएको पुष्टि

 असोज ९, २०८१ बुधबार १८:३०:४२ | एजेन्सी
unn.prixa.net

मध्य युरोपमा यसै महिना आएको ठूलो बाढीमा मानव सिर्जित जलवायु परिवर्तन नै मुख्य कारक रहेको एउटा अध्ययनले जनाएको छ । मानिसकै गतिविधिका कारण नसोचिएको वर्षा भएको र वर्षाले विनाशकारी बाढी निम्त्याएको अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यही सेप्टेम्बर महिनामा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो क्षेत्रलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा ठूलो क्षति भएको छ । बाढीबाट २४ जनाको ज्यान गएको छ । पुलहरू क्षतिग्रस्त भएका छन्, केही शहर अझै बिजुलीविहीन छन् । बाढीले क्षति पुर्‍याएको पूर्वाधार मर्मतका लागि अर्बाैं युरो चाहिने खबरमा उल्लेख छ ।

यो महिनाको ठूलो वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको वैज्ञानिकहरूको समूह 'वर्ल्ड एट्रिब्युसन' काे अध्ययनले बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सातदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले अहिलेको वर्षा र बाढी सिधै जीवाश्म इन्धनबाट बढेको तापक्रमसँग सम्बन्धित रहेको बताउनुभएको छ । मध्ये युरोपमा अहिलेसम्मको वर्षाको रेकर्ड तोडिएको र यति ठूलो अन्तरमा रेकर्ड तोडिनु अर्को अचम्मको विषय भएको खबरमा उल्लेख छ ।

'वर्ल्ड वेदर एट्रिब्युसन' काे अध्ययनले विश्वव्यापी तापक्रम अझै पनि बढ्दै गएमा यसपटक मध्य युरोपमा भएको वर्षा र बाढीको जोखिम ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया