भोलि बेलुकीसम्म लगातार झरी पर्ने सम्भावना, आइतवारदेखि मौसममा क्रमिक सुधार हुने

 असोज ११, २०८१ शुक्रबार ८:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  – देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उहाँले बताउनुभयो । गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।

नारायणी,  कन्काई, कमला,  बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया