वर्षा र पहिरोले मुख्य राजमार्ग अवरुद्ध, सकेसम्म यात्रा नगर्न र सावधानी अपनाउन आग्रह

 असोज १२, २०८१ शनिबार ७:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

वर्षाका कारण नौबिसे–काठमाण्डाै सडक अवरुद्ध, तस्बिर : रासस

काठमाण्डौ – लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन् ।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ । चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ ।

बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाण्डाै जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा पनि सडक अवरुद्ध भएको छ । लगातार पानी परेका कारण पहिरो खसेको ठाउँमा सडक खुलाउन समय लाग्ने र अरू ठाउँमा पनि पहिरो खस्ने सम्भावना भएकाले सकेसम्म यात्रामा ननिस्कन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया