आज दिनभर घनघोर वर्षाको सम्भावना : भोलि बिहानदेखि मौसममा सुधार हुने

 असोज १२, २०८१ शनिबार ८:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ ।

अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया