देशका धेरैजसो राजमार्ग र सडक बन्द : अत्यावश्यक कामबिना यात्रा नगर्न आग्रह

 असोज १२, २०८१ शनिबार १३:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मा रहेकाे मादीपुल नजिक पहिरोले अवरुद्ध सडक डोजर प्रयोग गरी मर्मतसम्भार गरिँदै। तस्बिर : सानेबहादुर नेपाली / रासस

काठमाण्डौ – बाढी र पहिरोका कारण देशका धेरैजसो सडक बन्द छन् । कतै बाढीले सडक र पुल बगाएको छ भने कतै पहिरोले गर्दा सडक अवरुद्ध रहेका छन् । काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्न लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड ठाउँ–ठाउँमा बन्द छ । नागढुङ्गाभन्दा केही तलबाट नौबिसेको सुरुङमार्गसम्म ठाउँ–ठाउँमा पहिरो खस्दा सडक बन्द छ । धादिङकै कमेरेमा पृथ्वी राजमार्गमा ठूलो पहिरो खसेको छ ।

काठमाण्डौबाट कान्ति लोकपथ र दक्षिणकालीबाट कुलेखानी हुँदै हेटौँडा जाने सडक बन्द छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका ठाउँ–ठाउँमा सडक बन्द रहेको छ । मुग्लिन–पोखरा सडकको ठाउँ–ठाउँमा पहिलो खस्दा कतै सडक बन्द र कतै एकतर्फी चलिरहेको छ । यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका नजिकै भोटेकोशीका तीन वटा पुल र सडक बाढीले बगाएको छ । बन्दरगाह उच्च जोखिममा छ । आबुखैरेनी–गोरखा सडक पनि अवरुद्ध छ ।

राप्ती राजमार्गको सल्यान खण्डमा सडक बन्द रहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलबाट पोखरासम्म ठाउँ–ठाउँमा सडक बन्द छ । ओखलढुङ्गा, खोटाङ र सिन्धुलीमा मध्यपहाडी राजमार्ग बन्द छ । ओखलढुङ्गाबाट सल्लेरी जाने बाटो पनि पहिरोले बन्द भएको छ । पूर्वमा भेँडेटार–रबि–राँके सडक बन्द रहेको छ । हेवा खोलामा आएको बाढीले मेची राजमार्गअन्तर्गतको ‘बेलिब्रिज’ बगाएको छ ।

पाँचथरको  फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिनुभयो । पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।

तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड, तानसेन–रिडी–कोरला, बालाजु–धुन्चे–स्याप्रुबेसी, छिन्चु–जाजरकोट र मलेखु–धादिङ–सल्यानटार सडक पनि बन्द छ । यी बाहेक देशका धेरैजसो सडक कतै बन्द र कतै एकतर्फी मात्रै चलेका छन् । नेपाल प्रहरी र सडक विभागले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेका छन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया