बाढी र पहिरोबाट ३ दिनमा १ सय ४८ जनाको ज्यान गयो, ५८ जना बेपत्ता

 असोज १३, २०८१ आइतबार १७:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : झ्याप्ले खोलामा डोजरको सहायताले गाडी निकाल्दै उद्धारकर्मी

काठमाण्डाै – पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर १ सय ४८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले उज्यालोलाई दिएको जानकारीअनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको ज्यान गएको छ भने ५८ जना अझै बेपत्ता छन् । यस्तै १ सय एक जना घाइते भएका छन् ।

सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ४१ जनाको ज्यान गएको छ । काठमाण्डौमा १४, ललितपुरमा २२ र भक्तपुरमा पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले भने काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ७३ जनाको ज्यान गएको बताएको छ । धादिङमा बस पुरिएका मृतकलाई समेत काठमाण्डौ उपत्यकामा गणना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै नेपाल प्रहरीका अनुसार धादिङमा ३८, काभ्रेमा २९ र मकवानपुरमा ७ जनाको ज्यान गएको छ । यस्तै सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५/५ जना, झापा र धनकुटामा २/२ जना तथा इलाम र उदयपुरमा एक/एक जनाको ज्यान गएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको ज्यान गएको छ ।

यस्तै बाढी पहिरोमा परी ५८ जना बेपत्ता भएका छन् । सबैभन्दा धेरै काभ्रेमा २३ जना बेपत्ता छन् । यस्तै ललितपुरमा १५, काठमाण्डौमा ५, सिन्धुपाल्चोकमा ६, दोलखामा ४, धादिङमा २, पाँचथरमा ५ जना तथा झापा, मोरङ र महोत्तरीमा १/१ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परेर अहिलेसम्म ३ सय ३४ वटा घर बगेका छन् । यस्तै ४ वटा पक्की पुल र २ वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका सशस्त्र प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया