वर्षा रोकिएपछि पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो

 असोज १४, २०८१ सोमबार ८:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – वर्षा रोकिएपछि पनि सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । बिपी राजमार्गमा मात्रै अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई सय जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको र आज पनि महिला, बालबालिका र अशक्तलाई प्राथमिकता दिएर उद्धार गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । राजमार्गमा अलपत्र अरू यात्रुलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

यसैबीच बाढीपहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको दुई दिन बितिसक्दा पनि सरकारले एकीकृत राहत प्याकेजको घोषणा गर्न सकेको छैन । सरकारको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट घर गुमाएका पीडितका लागि आवास व्यवस्था गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार मृतकलाई दुई लाख रुपैयाँ दिने र आवासका लागि २५ हजारदेखि ५० हजार रुपैयाँ दिने व्यवस्था कानुनमा नै रहेकाले त्यसैअनुसार राहत वितरण हुनेछ । उद्धार र राहतको काम प्रभावकारी बन्न नसकेको जनगुनासो भइरहँदा सरकारले भने उद्धारमा ढिलासुस्ती नभएको दाबी गरेको छ । बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धलाई प्राथमिकता दिएर उद्धारको काम भइरहेको सरकारको भनाइ छ ।

यसैबीच बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे छलफल गर्न विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक अहिले बस्दै छ । खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया