छोराछोरी विदेशमा भएका झन्डै २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपना : काठमाण्डाै महानगर

 असोज १६, २०८१ बुधबार १५:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – छोराछोरी विदेशमा भएका ज्येष्ठ नागरिकका बीचमा काठमाण्डौ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१ दशमलव ७ प्रतिशत व्यक्तिमा गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । यस्तै ६२ दशमलव ३ प्रतिशत व्यक्तिमा मध्यम खालको एक्लोपना र १५ प्रतिशत व्यक्तिमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको महानगरले जनाएको छ ।

उनीहरूले हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँचजस्ता पक्षमा हीनताबोध गरेका र यसै कारण एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यको स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका सवै वडा समेटिने गरी पाँच सय नौ जनालाई सहभागी गराइएको थियो ।

अध्ययनले ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न महानगरलाई सुझाव दिएको छ । ज्येष्ठ नागरिकलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानूनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।

यस्तै मूर्त/अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता ठाउँमा ज्येष्ठ नागरिकलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन सिफारिश गरिएको छ । शहरको चौतर्फी विकास गर्न, युवालाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्न पनि अध्ययनको सुझाव छ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया