हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ र हेटाैँडा–पालुङ–नौबिसे सडकमा गाडी चल्न थाले

 असोज १८, २०८१ शुक्रबार १२:११:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ  खण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।

यसअघि जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षा हुनसक्ने सूचना निकालेपछि आज बिहानसम्म स्थानीय प्रशासनले यो सडकमा गाडी चलाउन रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि गाडी चल्न चालेका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडक खण्डमा हलुका गाडी सञ्चालन भएका हुन् ।

यसैबीच बाढी पहिराेका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।

हेटौँडा–काठमाण्डाै जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चार वटा मेशिन प्रयोग गरेर काम भइरहेको छ । सडक विभाग र सुरक्षाकर्मीको टोलीले भीमफेदी गाउँपालिका–६ देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ मा बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा मेशिन चलाइएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया