पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
उमेरले भर्खर १५ मा हिँडिरहेकी नवोदिता बालकथाकार अपेक्षा बास्तोला हाल कक्षा १० मा अध्ययनरत छात्रा हुन् । उनको भर्खरै प्रकाशित नौवटा कथाहरूको कथासङ्ग्रह कृति ‘भयको तस्बिर’ हिजो साँझ मात्र हात पर्याे । केशरी अम्गाईद्वारा सम्पादित, भवानी पाठकद्वारा प्रकाशित, मिसन प्रिन्टर्स एण्ड पब्लिकेसनबाट मुद्रित, वसन्तराज अज्ञातद्वारा कम्प्युटर सेटिङ तथा रविन्द्र मानन्धरद्वारा चित्र तथा आवरण कलाको काम भएको उक्त पुस्तकको कलेवर बाहिरी खोलबाहेक २८ पेजको छ । प्रथम संस्करणमा १००० प्रति छापिएको उक्त पुस्तकको एक प्रतिको मूल्य रु. १५०/- राखिएको छ । पुस्तकको खोलको अगाडि भागमा पुस्तकको नाम र एक डराएको बालकको स्केच चित्र छ भने पछाडिको बाहिरी भागमा कथाकारको छोटो परिचयसाथै प्रा. डा. ऋषिराम शर्माको सङ्क्षिप्त उद्गार समेटिएको छ ।
विजयराज आचार्य नामका एकजना शिक्षकले विद्यालयमा कथा लेख्ने तरिका सिकाएपछि उनीभित्रको कथाको कुँडुलोले सहज रूपमा बाहिर निस्किन बाटो पायो भन्ने कुरा शुरू पृष्ठको लेखकीयमा अपेक्षा स्वयंले खोलेकी छिन् । एउटा शिक्षकको एक पिरियडको केही मिनेटको मेहनतले कसैको जीवनमा कसरी नयाँ मोड आउन सक्छ भन्ने कुराको प्रमाण पनि हो यो । यसमा शिक्षक र विद्यार्थीको र्याङ्ङ र ठ्याङ्ङ मिलेको देखिन्छ । हिमरश्मिको उक्त कक्षामा बास्तोला मात्रै त पक्कै थिइनन् होला । तर अरूलाई सरको त्यो कक्षा नियमितताको नियमितता मात्र भयो भने बास्तोलाको चाहिँ कथाका नाना विषयवस्तुले अटेसमटेस मनलाई सियोले झैँ चुस्स घोचिदिएर मनभित्रको कथाको कुँडुलो सर्लक्कै बाहिरै निस्कने गरी भ्वाङ पार्न सफल भएछ । एउटा विद्यार्थीको भावना पोख्न प्रेरक बन्ने विजय सरको भूमिका पनि निकै महत्त्वपूर्ण देखिन्छ । घरभित्रका शिक्षित आमाबाबुको त झन् नकुरा गरौँ ।
पहिलो कथा ‘इमानसिंहको इमान’ मा इमानसिंहले दश रुपैयाँको नोट लिएर दिनभरि बजार घुमेर इच्छाबमोजिमका खानेकुरा टन्नै खाएर बेलुका समेत उक्त दश रुपैयाँ जस्ताको तस्तै घर पुर्याउँदा देखाएको इमानदारीको कारण उसले घरमा पाउँदै आएको खाजाभत्ता दोब्बर बनेको कहानीले बालमनोविज्ञानमा असल र इमानदार बन्नुपर्ने रहेछ भन्ने छाप छोडेको छ भने दोस्रो कथा ‘पुन्टेलाई अंश…’ मा पुन्टेले रोटी बेल्न नसकेर चरेसको थालै ठ्याक लगाइदिँदा थाल फुटेको र पिटाइ खाने डरले कसैलाई नभनेको तर उसले सत्य बोलेपछि थाहा पाउँदा पनि बाआमाले खासै केही नगर्दा ऊ खुसी भएको प्रसङ्गले केटाकेटीलाई सजाय दिनुभन्दा सत्य बोल्न सिकाउनु पर्ने शिक्षा अभिभावक एवं शिक्षकलाई र सत्य बोल्दा अप्ठ्याराबाट बचिने शिक्षा बालबालिकालाई दिँदै बालमनोविज्ञानमा सकारात्मक प्रवृत्तिको विकास गराउन खोजिएको देखिन्छ । ठीक यही मनोविज्ञान स्थापित गराउन खोजेको छ तेस्रो कथा ‘बुबाको डर’ ले । कक्षामा छिर्न ढिलो भएर कक्षा नै बङ्क गरी लुक्ने एक खाले विद्यार्थीहरूलाई सुध्रिनुपर्छ भन्ने मनोविज्ञान विकास गराउन खोजेको छ यो कथाले । त्यसैगरी वनको बाघले नखाँदा पनि मनको बाघले खान्छ भन्ने उखानलाई पुष्टि गरेको छ चौथो कथाले । पानी घट्ट चल्दाको र्याट्याक र्याट्याक आवाजलाई अँध्यारोमा कुनै डरलाग्दो आवाजजस्तो लाग्दा मनको बाघले सताइएको रमेशले अर्को दिन साथीहरूसँग हिँड्दा जब वास्तविकता पत्ता लगाउँछ तब उसलाई हाँसो उठ्छ । यदि यो पत्ता नलागेको भए उसले सायद भूत भनेर जीवनभरि भूतको कथा बताउँदै हिँड्थ्यो होला । प्राय: केटाकेटीहरू यस्तै समस्यामा फसेका हुन्छन् । साँझबिहान अँध्यारामा घरभित्र बाहिर गर्दा अथवा बाटो हिँड्दा प्राय: सबैले केटाकेटीमै भोगेकै कुरा हुन् यी । यस्ता किसिमका डरको वास्तविकता खुलेन भने त्यो डर अचेतन मस्तिष्कमा गई छिपेर बस्छ र कुनै पनि बेला अनजानमै त्यसले अकस्मात् भयावह रूप पनि लिन सक्छ । तर बेलैमा त्यसको छिनोफानो भइहाल्यो भने बालबालिकाको मस्तिष्कमा भयको नकारात्मक तस्बिर बस्तैन बरु असल ज्ञान चाहिँ आर्जन गर्छन् जसले उनीहरूलाई अझै परिपक्व बन्न मद्दत गर्दछ ।
पाँचौँ कथा ‘भैरवको फिर्ती’ मा युट्युबको हेर्ने कथाको माध्यमबाट युवकहरूमा स्वदेशमै बसेर केही गर्न सकिँदो रहेछ भन्ने मानसिकता तयार गराइएको छ । यसबाट बालबालिकामा देशप्रेमको भावना र परिश्रम गरी स्वदेशमै सुन फलाउन उद्यम गर्ने प्रेरणा जगाउन खोजिएको छ । छैटाैँ कथा ‘मनको बाघ’ मा एक्ला बालबालिकालाई घरमा छाडेर अभिभावकहरू कतै जाँदा बालमस्तिष्कमा देखिने त्रासको मनोविज्ञानलाई उजागर गराइएको छ । घडीको टिकटिक आवाजलाई तन्द्रामा कोही मान्छे टकटक गरेर आई भान्सामा चिया पकाए जस्तो लाग्नु त्रसित बाल मनोविज्ञानको उपज हो। मनमा डर लिएर सुतेका बालबालिकाले सपना पनि डरलाग्दै देख्छन् । त्यही मनोविज्ञान घटित भएको छ। यहाँ एक्ली रीतामा ।
सातौँ कथा ‘मिहिनेती रमा’ मा रमाले आफूले कथा लेखेको कुरा बालाई बताउँछिन् तर बा चाहिँ मोबाइल तिरै व्यस्त हुन्छन् । उनको कुरा सुन्दैनन्। उनी फेरि आमा भए ठाउँमा जान्छिन् । आमाले पनि त्यति ध्यान दिन्नन् र पढपढ मात्रै भन्छिन् । बालबालिकाले स्वमेहनतबाट केही नयाँ काम गर्दा आफ्ना बाआमालाई सुनाउन देखाउन खोज्नु स्वाभाविकै हो तर त्यसप्रति वास्ता नगर्ने अभिभावकहरूको पनि कमी छैन हाम्रो समाजमा । जसले गर्दा केटाकेटीमा मानसिक पीडा हुन्छ । बास्तोलाले यही बालमनोविज्ञान देखाउन खोजेकी छिन् यस कथामा । हप्ता दिनसम्म झोक्रिएर बस्छिन् रमा । बालबालिकाहरू शिक्षक एवम् अभिभावकहरूको आफूप्रति चासो खोजिरहेका हुन्छन् । यदि आफूप्रति शिक्षक अभिभावकको चासो पाएनन् भने त्यसले उनीहरूलाई मनमा पीडा हुन्छ । भन्न पनि सक्दैनन् र रिस पोख्न पनि सक्दैनन् । अनि कसैले एकोहोरो हुने झोक्रिने जस्ता व्यवहारहरू देखाउँछन् भने कसैले उग्र व्यवहार ता कि अरूको ध्यान आफूप्रति आकृष्ट होस् । त्यस्तो व्यवहार देखेर शिक्षक अभिभावकले केटाकेटीलाई झन् गाली गरिदिन्छन् । जसले उनीहरूलाई झन् पीडातिर धकेलिदिन्छ । यो हामी सबैका घरघरमा र स्कुलमा हुने कहानी हो । शिक्षक अभिभावकको चासो पाएपछि उनीहरूमा आत्म अस्तित्वको अनुभव हुन्छ । यो कथा पनि बालमनोदशाकै धरातलमा उभिएको छ । सायद कथाकार बास्तोलाले आफ्नै अनुभव पोखेको हुनुपर्छ यो ।
अपेक्षा बास्ताेला
‘स्वर्ग जाने बाटो’ मा सङ्कटकालको समयमा घुम्न र मकै खान निस्किएका विद्यार्थीहरूलाई सुरक्षाकर्मीका फन्दामा पारेर प्रतिकूल समयमा अनावश्यक रूपमा हिँड्दा मान्छेमा आइपर्ने समस्या कथाकारले देखाएको पाइन्छ । आफू जन्मनुभन्दा पहिलेको र आफूले नभोगेको कुरा पनि भोगेजस्तै गरी लेखिएको यो कथा सायद उनकै कुनै अभिभावकको जीवन कहानी पनि हुन सक्छ ।
सानैमा बाबु गुमाई टुहुरो बनेको हर्कजितले अब्बल प्रतिभा देखाउँदै पढी राम्रो नतिजा ल्यायो र परिवारको जिम्मेवारीलाई आफ्नो काँधमा बोकेर मेहनतका साथ पारिवारिक आवश्यकता पूरा गर्न सक्यो । इमानदारी र अथक परिश्रमले कर्म गरे परिवारमा खुसी छाउँदोरहेछ भन्ने मानसिकतालाई ‘हर्कजितको सङ्घर्ष’ कथाले देखाएको छ ।
यसरी हेर्दा यस कथासङ्ग्रहमा समेटिएका सबै कथाहरू बालमनोवैज्ञानिक धरातलमा खडा भएका देखिन्छन् । पहिलो कृतिमै मनोविज्ञानजस्तो जटिल विषयवस्तु समेट्न सक्नु स्रष्टाको खुबी नै मान्नु पर्छ । यी बालकथाहरू बालबालिकालाई त शिक्षावर्द्धक छन् नै तर अभिभावकलाई पनि कम्ती उपयोगी भने छैनन् । आगामी दिनमा अझै अब्बल कृतिहरू जन्मियून् । स्रष्टामा शुभकामना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।