पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

 असोज २०, २०८१ आइतबार १२:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको विभिन्न ठाउँमा पहिरोले भत्काएको सडक अझै अवरुद्ध रहेको हो ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने चारसयबेशी, वडा नम्बर ११ को कालढुङ्गा र वडा नम्बर १२ प्याकुरेलमा सडक पूर्णरूपमा अवरुद्ध छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको अक्करे भीरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ ।

सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थली जोड्ने सुनकोशीको पुल भत्किएका कारण खुर्कोट–मन्थली सडक पूर्णरूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो र पुल भत्किएका कारण बाह्रबिशे तातोपानी सडक पूर्णरूपमा अवरुद्ध छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा गएको पहिरोका कारण भीमफेदी, कुलेखानी, फाखेल सडक पूर्णरूपमा अवरुद्ध छ ।

यस्तै पहिरोले सिस्नेरी–दक्षिणकाली सडक र कान्ति लोकपथ पनि पूर्णरूपमा अवरुद्ध छ । अन्य ठाउँका कतै एकतर्फी र कतै पालो गरेर सडक सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच बाढी पहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताउनुभयो ।

तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उहाँले बताउनुभयो ।

त्यहाँ अहिलेलाई साना गाडी मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारको इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताउनुभयो ।

बीपी राजमार्गमा फसेका गाडीमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाण्डौ पुगेका छन् । रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नम्बर ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी गाडीलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उहाँले दिनुभयो । 

सडकको अवस्था : 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया